२३ औं आहारारा गाेल्डकपकाे तयारी पूरा,१२ टाेली भिड्ने

आइतबार, माघ १८, २०८२

कास्की: पाेखरामा आहा–रारा पोखरा गोल्डकपको रौनक सुरु भएको छ। सहारा क्लब पोखराको आयोजनामा हुने यस प्रतिष्ठित फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। यही माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने यस प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल १२ टोलीले उपाधिका लागि मैदानमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन यस पटक चार विदेशी टोलीलाई समेत निम्त्याइएको छ। विदेशी टोलीहरुमा थन्डरबोल्ट युनाइटेड सिक्किम, भारतकै अर्को एक टोली, आभा फुटबल क्लब उज्वेकिस्तान र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ रहेका छन् ।
साथसाथै नेपाल पुलिस क्लब, एपिएफ नेपाल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ–मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड र आयोजक सहारा क्लब पोखराले प्रतियोगितामा धमाका मच्चाउनेछन् । 
सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार यस वर्ष पुरस्कार राशिमा आकर्षक वृद्धि गरिएको छ। खेलको गरिमा र खेलाडीको प्रोत्साहनका लागि पुरस्कार रकम बढाइएको उनको भनाइ छ । यसपटकको विजेताले १४ लाख १ हजार रुपैंया पाउने छन् भने ७ लाख १ हजार रुपैंया पुरस्कार पाउनेछन् । 
अतिथिको स्वागत र खेल मैदानको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। पोखरेली दर्शक र फुटबल प्रेमीका लागि यो संस्करण निकै रोमाञ्चक हुने हाम्रो विश्वास छ – अध्यक्ष थापाले भनेका छन् ।
पोखराको पर्यटन र खेलकुदलाई जोड्ने सेतुका रूपमा रहेको यो प्रतियोगिताले नेपाली फुटबलको स्तरलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्