सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आइसिसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा शानदार प्रदर्शन गरेको छ। भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध लगातार दोस्रो जित निकाल्दै नेपालले शनिबार ४८ रनको फराकिलो जित हात पारेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८३ रन बनायो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गर्नुभयो। उहाँले ४२ बलमा अविजित ६६ रन बनाउनुभयो। सन्दीप जोरा ३१ रनमा आउट हुँदा आशिफ शेखले २५ र गुल्सन झाले २३ रनको योगदान दिनुभयो।
१८४ रनको लक्ष्य पछ्याएको एमसिए प्रेसिडेन्ट–११ ले २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो भने ललित राजवंशी र गुल्सन झाले दुई–दुई विकेट हात पार्नुभयो।
यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा पनि नेपालले एमसिएलाई सात विकेटले पराजित गरेको थियो। उक्त खेलमा कप्तान रोहित पौडेलले अविजित ५० रन बनाउँदै टोलीलाई जित दिलाउनुभएको थियो।
अब नेपालले विश्वकपअघि फेब्रुअरी ३ मा यूएई र फेब्रुअरी ५ मा क्यानडासँग चेन्नईमा वार्म–अप खेल खेल्नेछ। भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ नेपालसहित वेस्ट इन्डिज, इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।