सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आईसीसी टी–२० विश्वकपको तयारी अन्तर्गत श्रीलंकामा अभ्यास खेल खेलेको नेपाली पुरुष क्रिकेट टोलीले लज्जास्पद हार बेहोरेको छ । श्रीलंका ‘ए’ सँग भएको पहिलो अभ्यास टी–२० खेलमा नेपाल ६ विकेटले पराजित भयो ।
नेपालले प्रस्तुत गरेको १८६ रनको चुनौती श्रीलंका ‘ए’ ले सहज रूपमा १८ ओभरमै चार विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीका ब्याटरहरूले नेपाली बलिङ आक्रमणलाई दबाबमा राख्दै खेललाई आफ्नो पक्षमा पारे ।
श्रीलंका ‘ए’ का लाहिरु उडाराले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ७३ रन बनाए । उनलाई नुवानिदु फर्नान्डोले ३८ रन तथा सहान अराकिगेले अविजित ३३ रनको योगदान दिए । नेपालका तर्फबाट सोमपाल कामीले तीन विकेट लिए भने ललित राजवंशीले एक विकेट झारे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८५ रन जोडेको थियो । ओपनर आसिफ शेखले ४२ बलमा ६१ रनको आकर्षक इनिङ खेले । आरिफ शेखले २७ बलमा ४२ रन बनाए भने कप्तान रोहित पौडेलले ३१ रनको योगदान दिए ।
आईसीसी टी–२० विश्वकपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले अब श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास खेल बिहीबार र तेस्रो खेल शनिबार खेल्नेछ ।
श्रीलंका भ्रमणपछि नेपाली टोली भारत प्रस्थान गर्नेछ । भारतमा मुम्बईस्थित एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास टी–२० खेल खेल्ने तालिका रहेको छ ।
आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ ।