T10 T10

अफगानिस्तानले वेस्ट इन्डिजलाई हरायो

मंगलबार, माघ ६, २०८२
Global

काठमाडौं:आगामी टी–२० विश्वकपको तयारीका क्रममा यूएईमा भइरहेको तीन खेलको शृंखलामा अफगानिस्तानले सानदार सुरुवात गरेको छ।

दुबईमा सम्पन्न पहिलो खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ३८ रनले पराजित गर्दै शृंखलामा १–० को अग्रता बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। सुरुवातमा दुई विकेट गुमाएपछि इब्राहिम जाद्रान र दरविश रसुलीले तेस्रो विकेटका लागि १६२ रनको उत्कृष्ट साझेदारी गरे।

इब्राहिम जाद्रानले ५६ बलमा अविजित ८७ रन बनाए भने दरविश रसुलीले ८४ रनको शानदार पारी खेले।

१८२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमै सीमित भयो। अफगानिस्तानका स्पिनरहरूसामु क्यारेबियन ब्याट्सम्यानहरू संघर्षरत देखिए।

वेस्ट इन्डिजका क्वेन्टिन स्याम्पसनले सर्वाधिक ३० रन बनाए। गुडाकेश मोटीले २८, जोनसन चार्ल्सले २७ र म्याथ्यु फोर्डेले २५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

अफगानिस्तानका जिया उर रहमानले ३ विकेट लिए भने कप्तान राशिद खान, मुजीब उर रहमान र नूर अहमदले समान २–२ विकेट लिए।

विश्वकपअघि आएको यो जितले अफगानिस्तानको मनोबल उच्च बनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्