T10 T10

भारतलाई हराउँदै न्यूजल्याण्डले जित्यो एकदिवशीय श्रृखंला

सोमबार, माघ ५, २०८२
Global

काठमाडौँ:न्युजिल्यान्डले भारतको घरेलु मैदानमा पहिलो पटक एकदिवसीय क्रिकेट शृङ्खला जित्दै इतिहास रचेको छ। इन्दौरमा सम्पन्न निर्णायक खेलमा भारतलाई पराजित गर्दै न्युजिल्यान्डले तीन खेलको शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो।

पहिलो खेलमा पराजित भए पनि बाँकी दुई खेल जित्दै न्युजिल्यान्डले शृङ्खला कब्जा गरेको हो। यसअघि न्युजिल्यान्डले भारतमा टेस्ट शृङ्खला पनि जितिसकेको छ। घरेलु मैदानमा टस जितेका पछिल्ला १४ खेलमध्ये भारतले पहिलो पटक हार बेहोरेको हो।

टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले खराब सुरुवातपछि उत्कृष्ट पुनरागमन गर्‍यो। ड्यारेल मिचेल र ग्लेन फिलिप्सले चौथो विकेटका लागि २१९ रनको साझेदारी गर्दै टोलीलाई ३३७ रनको बलियो योगफलमा पुर्‍याए। मिचेलले शतक पूरा गर्दा फिलिप्सले १०६ रन बनाए।

३३८ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात कमजोर रह्यो। विराट कोहलीले ५४औँ ओडिआई शतक प्रहार गर्दै जितको आशा जगाए पनि अन्त्यमा टोली ४६ रनले पराजित भयो।

न्युजिल्यान्डका बलरहरूले ब्याटिङमैत्री पिचमा पनि प्रभावशाली प्रदर्शन गरे। काइल जेमिसन र जेडेन लेनोक्सले महत्त्वपूर्ण विकेट लिँदै जित सुनिश्चित गरे।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्