T10 T10

थाइल्यान्ड विरुद्ध टस हारेको नेपाल ब्याटिङ गर्दै

आइतबार, माघ ४, २०८२
Global

काठमाडौँ:नेपालले पहिलो पटक आयोजना गरेको महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत थाइल्यान्डविरुद्धको उद्घाटन खेलमा नेपालले ब्याटिङबाट सुरुवात गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न टसमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि नेपाली टोलीलाई पहिला ब्याटिङ गर्ने अवसर मिलेको हो।

एसिया छनोट पार गर्दै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको नेपाली महिला टोलीका लागि यो प्रतियोगिता ऐतिहासिक अवसर हो। टोलीको मुख्य लक्ष्य महिला क्रिकेट विश्वकपमा छनोट हुनु रहेको छ, र त्यसै लक्ष्यसहित नेपाल आज मैदानमा उत्रिएको छ।

यद्यपि, थाइल्यान्डविरुद्धको चुनौती सहज भने छैन। थाइल्यान्ड तुलनात्मक रूपमा अनुभवी र बलियो टोली मानिन्छ, जसले यसअघि महिला टी–२० विश्वकप खेलिसकेको अनुभव बोकेको छ।

समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा शीर्ष तीनभित्र पर्न सके नेपाली टोली सुपर सिक्समा प्रवेश गर्नेछ। त्यसपछि शीर्ष चारमा स्थान बनाउन सफल टोलीले महिला विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्