सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :महिला ट्वान्टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपालले अमेरिकासामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।
यसअघि आयरल्यान्डसँगको अभ्यास खेलमा कमजोर प्रदर्शन गर्दै ९९ रनको हार बेहोरेको नेपालले शुक्रबार भने ब्याटिङमा सुधार देखायो। माथिल्लो क्रमका ब्याटरले आत्मविश्वासपूर्ण सुरुआत गरे।
सम्झना खड्का र विन्दु रावलले पहिलो ६ ओभरमै ४२ रन जोड्दै नेपाललाई राम्रो सुरुआत दिलाए। सम्झनाले २४ रन बनाउँदा विन्दुले २७ रनको योगदान दिइन्। उपकप्तान पूजा महतोले १७ रन जोडिन्।
मध्यक्रममा कविता जोशी र रोमा थापाले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। जोशीले २० र रोमाले १९ रन बनाइन्। अन्त्यतिर राजमती ऐरी ८ रनमा अविजित रहिन्।
अमेरिकाका लागि तारानुम चोपडाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्।
अमेरिकाले यसअघि पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई हराउँदै आत्मविश्वास बढाएको थियो।