T10 T10

अमेरिकी खेलाडि अलि खानलाई भारतले भिषा दिन मानेन

बुधबार, पुस ३०, २०८२
Global

काठमाडौं :पाकिस्तान मूलका यूएसए क्रिकेट टोलीका तीव्र बलर अली खान लाई भारतले भिसा दिन अस्वीकार गरेको खुलासा भएको छ। अली खानले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरी मार्फत आफूलाई भारत प्रवेशका लागि भिसा नदिइएको दाबी गरेका हुन्।
यूएसए क्रिकेट टोलीले फेब्रुअरी ७ मा मुम्बईमा भारतसँग खेल्दै २०२६ आईसीसी पुरुष टी–२० विश्वकप को उद्घाटन खेल खेल्ने तालिका रहेको छ। तर प्रतियोगिताको पहिलो खेलअघि नै भारतले अली खानलाई भिसा दिन नमानेपछि विषयले अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा चर्चा पाएको छ।
हाल अली खान श्रीलंकाको कोलम्बोमा भइरहेको यूएसए टोलीको प्रशिक्षण शिविरमा सहभागी छन्। उनले भिसा अस्वीकार हुनुको कारणबारे कुनै थप विवरण सार्वजनिक गरेका छैनन्।
यस विषयमा प्रतिक्रिया लिन ईएसपीएनक्रिकइन्फो ले यूएसए टोली व्यवस्थापनसँग सम्पर्क गरेको जनाएको छ। यूएसए टोलीले अझै २०२६ टी–२० विश्वकप का लागि अन्तिम टोली घोषणा गरिसकेको छैन। तर कोलम्बोमा रहेको १८ सदस्यीय प्रशिक्षण टोलीबाट १५ खेलाडी छनोट हुने अपेक्षा गरिएको छ।
टोली छनोट प्रक्रिया यूएसए कोचिङ स्टाफले गर्नेछ भने प्रशासनिक तथा व्यवस्थापनको जिम्मेवारी भने आईसीसीले सम्हालिरहेको छ। यूएसए क्रिकेट संघ गत वर्षको अन्त्यतिर निलम्बनमा परेपछि आईसीसीले प्रत्यक्ष रूपमा यी कामहरू हेर्दै आएको छ।
३५ वर्षीय अली खान कोलम्बोमा रहेको प्रशिक्षण शिविरमा सहभागी पाकिस्तान मूलका तीन खेलाडीमध्ये एक हुन्। अन्य दुई खेलाडीमा पाकिस्तानका लागि तीन टेस्ट खेल खेलिसकेका एहसान आदिल र मोहम्मद मोहसिन रहेका छन्।
यस विषयमा आईसीसीले औपचारिक प्रतिक्रिया नदिए पनि अली खानको भिसा समस्यालाई समाधान गर्न पहल भइरहेको र चाँडै निकास निस्कनेमा विश्वस्त रहेको बुझिएको छ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्