T10 T10

आईसीसीले अस्वीकार गर्‍यो बंगलादेशको माग

बंगलादेशले विश्वकप नखेले स्कटल्यान्ड तयारी अबस्थामा
बुधबार, पुस ३०, २०८२
Global

काठमाडौँ:अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को २०२६ टी–२० विश्वकपका भारतमा हुने खेल श्रीलंका सार्नुपर्ने माग अस्वीकार गरेको छ। बीसीबीले सुरक्षा कारण देखाउँदै यस्तो अनुरोध गरेको भए पनि आईसीसीको सुरक्षा मूल्याङ्कनमा भारतमा कुनै गम्भीर जोखिम नरहेको निष्कर्ष निकालिएको छ।

आईसीसीको आन्तरिक प्रतिवेदनअनुसार प्रतियोगिताका लागि सुरक्षा जोखिम लो टु मोडरेट स्तरको रहेको छ, जुन कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सामान्य मानिन्छ। यद्यपि, यस विषयमा आईसीसीले अहिलेसम्म औपचारिक वक्तव्य सार्वजनिक गरेको छैन। टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ बाट सुरु हुने तालिका छ।

मंगलबार आईसीसी र बीसीबीबीच भिडियो कन्फरेन्समार्फत छलफल भएको थियो। सो छलफलमा बीसीबीले आफ्ना समूह चरणका खेल भारतबाट श्रीलंका सार्नुपर्ने माग पुनः दोहोर्‍याएको छ। बैठकमा बीसीबीका अध्यक्षसहित शीर्ष अधिकारीहरू सहभागी थिए र उनीहरूले सुरक्षा चिन्तालाई कारण देखाउँदै आफ्नो अडान कायम राखेका छन्।

यसको जवाफमा आईसीसीले प्रतियोगिताको तालिका पहिल्यै सार्वजनिक भइसकेको र अन्तिम समयमा स्थान परिवर्तन गर्नु व्यावहारिक नहुने स्पष्ट पारेको छ। होटल बुकिङ, खेलाडी तथा सहयोगी स्टाफको भिसालगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको जनाइएको छ।

यस अवस्थाबाट बंगलादेशका लागि अब दुई विकल्प मात्रै बाँकी छन्। तोकिएको तालिकाअनुसार प्रतियोगितामा सहभागी हुने वा टी–२० विश्वकपबाट नाम फिर्ता लिने। यदि बंगलादेशले प्रतियोगिताबाट हात झिक्यो भने आईसीसीले उसको स्थानमा अर्को टोली समावेश गर्न सक्नेछ। सम्भावित विकल्पका रूपमा स्कटल्यान्डको नाम अघि सारिएको छ।

यता बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले २०२६ टी–२० विश्वकपका आफ्ना खेल भारतबाट बाहिर सार्न आईसीसी इच्छुक नरहेको स्वीकार गरेको छ। तर, त्यसका बाबजुद पनि बीसीबीले आफ्नो अडानमा कुनै परिवर्तन नगर्ने स्पष्ट पारेको छ।

बीसीबीका अनुसार, आईसीसीले खेल स्थल परिवर्तनसम्बन्धी अनुरोधलाई अघि बढाउन अनिच्छा देखाए पनि बोर्डको आधिकारिक धारणा यथावत् रहेको छ। बीसीबी र आईसीसी दुवै पक्षले आपसी छलफलमार्फत सम्भावित समाधानका उपायहरू खोजिरहने जनाएका छन्।

यसअघि बीसीबीले सुरक्षा चिन्तालाई कारण देखाउँदै भारतमा तय गरिएका आफ्ना खेल श्रीलंका सार्न अनुरोध गरेको थियो। तर, आईसीसीको सुरक्षा मूल्याङ्कनमा भारतमा खेल आयोजना गर्न कुनै असामान्य जोखिम नदेखिएको निष्कर्ष निकालिएको छ।

विश्वकप सुरु हुन अब कम समय बाँकी रहँदा पनि बीसीबीले आफ्नो माग कायम राख्नुले यो विषय थप जटिल बन्दै गएको छ। यद्यपि, दुबै निकायबीच संवाद जारी रहने र अन्तिम निष्कर्ष छलफलबाटै निकालिने संकेत गरिएको छ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्