ओलम्पिक कमिटीद्वारा चौध खेलाडीलाई छात्रवृत्ति

शुक्रबार, पुस ४, २०८२

काठमाडौँ :नेपाल ओलम्पिक कमिटीले आगामी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै १४ जना नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा ओलम्पिक कमिटी, छात्रवृत्ति पाउने खेलाडी र सम्बन्धित खेल सङ्घका पदाधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकका लागि आठ जना खेलाडी छात्रवृत्तिमा छनोट भएका छन्। यसमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता प्रधान श्रेष्ठ, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोर्ट्स क्लाइम्बिङका तेन्जिङ राई र पौडीका अर्विन श्रेष्ठ छन्। उनीहरूले ओलम्पिक छात्रवृत्तिअन्तर्गत जनही एक हजार १२५ अमेरिकी डलर प्राप्त गर्नेछन्।
त्यस्तै, जापानको आयची–नागोयामा हुने एसियन गेम्स २०२६ का लागि पाँच जना खेलाडीलाई छात्रवृत्ति दिइएको छ। आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, उसुकी सुष्मिता तामाङ तथा करातेकी एरिका गुरुङ र सानुमाया थिङ यसमा समावेश छन्। उनीहरूले मासिक ५० हजार रुपैयाँ पाउनेछन्।
सेनेगलमा आयोजना हुने डकार वर्ल्ड युथ गेम्स २०२६ का लागि भने उसुकी खेलाडी रश्मी तामाङ छनोट भएकी छन्। उनलाई पनि मासिक ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिनेछ।
कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले छात्रवृत्ति प्राप्त गर्ने खेलाडीलाई बधाई दिँदै खेल सङ्घसँगको छलफलबाट उत्कृष्ट खेलाडी छनोट गरिएको बताए । उनले आगामी दिनमा सरकारबाट खेलकुद विकासका लागि नीतिगत सहयोग हुने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्