नीति तथा कार्यक्रम :कर्णाली प्रदेश

१० औँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई प्रशिक्षण

बुधबार, जेठ २३, २०८१

काठमाडौंः कर्णाली प्रदेश सरकारले १० औं राष्ट्रिय खेलकुदमा प्रदेशबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षण दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत कर्णाली सरकारले १० औँ राष्ट्रिय खेलकुद सम्पन्न गरिने र उक्त प्रतियोगितामा कर्णालीबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाइने घोषणा गरेको हो । 


बुधबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले तीनै तहका सरकारको स्रोत परिचालन गरी आवश्यक खेल पूर्वाधार विकासलाई निरन्तरता दिँदै सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिने घोषणा गरेका हुन् । 
उनले प्रदेश रंगशाला निर्माणको काम तोकिएकै समयमा पूरा गरिने घोषणा गर्दै प्रतियोगितामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई प्रशिक्षण तथा प्रोत्साहनको व्यवस्था मिलाईने बताएका हुन् । व्यवसायिक खेलाडी उत्पादन तथा प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिने घोषणा गरिएको छ ।

यस्तै, स्वस्थ र सिर्जनशील जीवनयापनका लागि खेलकुद, योग, व्यायाम, ध्यान लगायतका कार्यक्रमलाई क्रमशः विद्यालय तहसम्म विस्तार गर्दै प्रदेशको विकास र समृद्धिमा युवाको रचनात्मक योगदानका लागि युवाको सर्वाङ्गीण विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

यसका लागि कर्णाली सरकारले युवा नेतृत्व विकास, युवा प्रतिभा पहिचान, युवा उद्यमशीलता तथा स्वरोजगाार, युवा महोत्सव, युवा खेलकुद, युवा वैज्ञानिक प्रोत्साहन र व्यवसायिक खेलाडी उत्पादन तथा प्रोत्साहन, स्काउट सम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरने बताएको  छ । 

कर्णाली प्रदेश सरकारले असार १ गते ल्याउने आगामी आर्थिक बर्षको बजेट बुधबार प्रस्तुत गरेको निति तथा कार्यक्रम अनुसार  नै ल्याउनेछ । 


 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्