सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
कोलम्बो :नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै टिम उपविजेता बन्न सफल भएको छ।
श्रीलङ्काको कोलम्बोमा सम्पन्न प्रतियोगितामा नेपालले २१ स्वर्ण, ९ रजत र २० कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिए ।
नेपालका लागि विशेष योगदान दिने खेलाडीहरूमध्ये महिला तर्फ हिमालयन वारियर्स उपनामले परिचित एरिका गुरुङ (६८ केजीमाथि), पुष्पका लामा (५० केजी), र सविना श्रेष्ठ (५५ केजीमुनि) ले व्यक्तिगत तथा टिम कुमुतेमा दोहोरो स्वर्ण जित्दै देशको पदक संख्या बढाए।
त्यस्तै, प्रदीप बैजाली मगरले यु–२१ र सिनियर व्यक्तिगत कुमुतेमा एक/एक स्वर्ण जिते भने टिम कुमुतेमा रजत पनि थपे ।
यसअघि नेपालले घरेलु मैदानमा सम्पन्न सातौँ संस्करण र भुटानमा सम्पन्न आठौँ संस्करणमा टिम च्याम्पियन बनेको थियो।
यस संस्करणमा भारत टिम च्याम्पियन बन्यो। भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य पदक जित्दै शीर्ष स्थानमा रह्यो। श्रीलङ्का १६ स्वर्ण, २० रजत र २३ कांस्यसहित तेस्रो बन्यो।
अन्य देशहरूको प्रदर्शन हेर्दा बङ्गलादेशले ३ स्वर्ण, ७ रजत र १४ कांस्यसहित चौथो, पाकिस्तानले १ रजत र ७ कांस्यसहित पाँचौँ, र भुटानले १ रजत र १ कांस्यसहित छैटौँ स्थान हासिल गरे।
कूल ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले पुनः उच्च प्रदर्शन गर्दै क्षेत्रीय स्तरमा आफ्नो प्रभाव जमाएको छ।