dosa dosa

पुष्प सदनका हार्दिक पन्तलाई राष्ट्रिय विद्यालयस्तरीय चेस उपाधि

शनिबार, असार १४, २०८२

ललितपुर :मदन स्मृति यू–१५ विद्यालयस्तरीय राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुष्प सदन स्कूलका हार्दिक पन्त शीर्ष स्थानमा उक्लिँदै च्याम्पियन बनेका छन्।

राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उनले आठ चरणको प्रतिस्पर्धाबाट ७ जित र १ बराबरी गर्दै ७.५ अंकसहित उपाधि आफ्नो बनाएका हुन्।

पन्तले उपाधिसँगै आकर्षक ट्रफी, २५ हजार रुपैयाँ नगद पुरस्कार र स्वर्ण पदक प्राप्त गरे।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा एशियन पब्लिक स्कूलका दिपेन मैनाली ७ अंकसहित दोस्रो स्थानमा रहँदा बसुन्धरा नेशनल एकेडेमीका अविन पाण्डे ६.५ अंकसहित तेस्रो भए। उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद, रजत र काश्य पदक प्राप्त गरे।

छनोट चरणका अन्य उत्कृष्ट खेलाडीहरूमध्ये ६.५ अंकसहित संस्कार गुरुकुलका आशिर्वाद थापा चौथो र नाइटिंगेल स्कूलका सुभनदिप थापा पाँचौं स्थानमा रहे। दुबैले ५/५ हजार नगद पुरस्कार पाए।

छैटौंदेखि दशौं स्थानसम्म रहेका प्रज्ञा कुञ्जका कसिभ कार्की, इन्टरनेशनल पब्लिक स्कूलका सार्थक पन्त, डिएभि स्कूलका हर्षवर्धन राठी, लिटल बुद्ध एकेडेमीका शुभम् जोशी र पाठशाला स्कूलका ओस्कर पन्थीले जनही ३/३ हजार नगद पुरस्कार जिते।

अन्य विधातर्फको नतिजा

यू–९: लाबोरोटोरी स्कूलका अंकुर पोखरेल (छात्र) र इम्पेरियल स्कूलकी अग्रता आचार्य (छात्रा) उत्कृष्ट भए।

यू–११: मार्भलस स्कूलकी निहाना श्रेष्ठ (छात्रा) र माछापुच्छ्रे आइबी स्कुलका साहष श्रेष्ठ (छात्र) प्रथम भए।

यू–१३: छात्रतर्फ मार्भलसका बृज्नानन्द दास र छात्रातर्फ उजिभनी कँडेल च्याम्पियन बने।

पुरस्कार वितरण समारोह
बागमती प्रदेशका पूर्व श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, कोषाध्यक्ष ताराबहादुर रानाभाट र प्रवक्ता राजु ताम्राकार लगायतका अतिथिहरुले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे। कार्यक्रमको अध्यक्षता हेटौंडा चेस क्लबका अध्यक्ष धरम बहादुर लामाले गरेका थिए।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ४० विद्यालयका १०२ जना छात्रछात्राको सहभागिता रहेको थियो भने कुल १ लाख १० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्