dosa dosa

पाँच विद्यार्थीले बुद्धिचाल प्रतियोगिताबाट छात्रवृत्ति जिते

शनिबार, असार ७, २०८२

हेटौंडा :हेटौंडा चेस क्लबको आयोजनामा सम्पन्न विद्यालयस्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा पाँचजना विद्यार्थीले उल्लेखनीय सफलता हासिल गर्दै छात्रवृत्ति प्राप्त गरेका छन्।

मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडामा आयोजित दुईदिने सेमी क्लासिकल प्रतियोगिता ८ चरणमा सम्पन्न भयो, जसमा ६६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सिद्धार्थ शिशु सदनका कृतार्थ ढोडारीले ७ अंक सहित प्रथम स्थान हासिल गरे। उनले एक वर्षको पूर्ण छात्रवृत्ति प्राप्त गरे।

त्यसैगरी, नवोदय शिशु सदनका नाइस लामाले समान ७ अंक भए पनि डाइरेक्ट इन्काउन्टरको आधारमा द्वितीय स्थानमा रहेर ६ महिनाको छात्रवृत्ति प्राप्त गरे। तेस्रो स्थानमा नवोदयकै सरल मैनाली रहे, जसले ६.५ अंक प्राप्त गर्दै ३ महिनाको छात्रवृत्ति जिते।

ज्ञानदीप शिक्षानिकेतनका विषम कोइरालाले ६ अंक र ३० प्रोग्रेसिभ प्वाइन्टसहित चौथो स्थान हासिल गर्दै १ महिनाको छात्रवृत्ति, भने नवोदय शिशु सदनकै श्रीस कर्मचारीले ६ अंक र २५ प्रोग्रेसिभ प्वाइन्टसहित पाँचौं स्थानमा रहेर १ महिने छात्रवृत्ति प्राप्त गरे।

प्रतियोगिताका विजयीहरूलाई कूल २ लाख रुपैयाँ बराबरको छात्रवृत्ति पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

शनिबार सम्पन्न समापन समारोहमा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख सूर्य बहादुर दाहालले पुरस्कार वितरण गरे। कार्यक्रमको अध्यक्षता नेपाल बुद्धिचाल महासंघका महासचिव तथा क्लब अध्यक्ष धरम बहादुर लामाले गरेका थिए।

समारोहमा बागमती बुद्धिचाल संघका सदस्य श्रीकृष्ण कर्माचार्य, मकवानपुर क्याम्पस स्ववियु सभापति प्रसिद्ध रेग्मी, बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष नारायणदास गमाल, तथा जिल्ला संघका कोषाध्यक्ष बुद्ध सापकोटा अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रम सञ्चालन क्लबका महासचिव किसन घिसिङले गरेका थिए। अध्यक्ष लामाले आगामी वर्ष छात्रवृत्ति रकम वृद्धि गर्दै प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिने जानकारी पनि दिए।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्