dosa dosa

दोस्रो मंगलादेवी स्मृति रेटिङ चेस प्रतियोगिता सुरु

बुधबार, असार ४, २०८२

काठमाडौँ :दोस्रो मङ्गलादेवी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस नेतृ तथा महानगर प्रमुख पदकी पूर्व प्रत्याशी सृजना सिंह र वडा नं. २७ का अध्यक्ष योगेश कुमार खड्गीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे।

७६ खेलाडीको सहभागिता

क्लासिकल विधामा भइरहेको प्रतियोगितामा नेपालका शीर्षस्थ खेलाडीहरूसहित ७६ खेलाडीले सहभागिता जनाएका छन्। प्रतियोगिता निशुल्क दर्ता गरिएको हो। प्रत्येक खेलाडीलाई खेलका लागि ६० मिनेट प्लस ३० सेकेन्ड इन्क्रिमेन्टको समय निर्धारण गरिएको छ।

दुई चरण सम्पन्न, शीर्ष स्थानमा दुई खेलाडी

९ चरणमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका छन्। दोस्रो चरणपछि कुशल बेलबासे र आभाष तिवारीले समान दुई–दुई अंक जोड्दै संयुक्त रूपमा शीर्ष स्थान ओगटेका छन्।

२० खेलाडीले समान २–२ अंक जोड्दा एफएम क्षितिज भण्डारी, सीएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, आशिष फुयाल, प्रकाश चन्द्र नेपाल, शैलेन्द्र न्यौपाने, धिरेन राई र जनार्दन शर्मा शीर्ष १० स्थानमा रहेका छन्।

त्यस्तै, कमल श्रेष्ठ, सीएम नवीन टण्डुकार, महेन्द्रकुमार साम्बा हाम्फे, सन्देश श्रेष्ठ, सुशील सुवेदी, विनय थापा, सुरज सिंह, सम्यक श्रेष्ठ, कृष्ण प्रसाद सिग्देल र राजकुमार राई शीर्ष २० मा रहेका छन्।

महिलातर्फ सिन्दिराजसहित ७ खेलाडी अग्रस्थानमा

महिला खेलाडीहरूको समूहमा ओमन नेशनल च्याम्पियन सिन्दिराज जोशी, विनिता कपाली, प्रतिमा बास्कोटा, अग्रता आचार्य, रिया श्रेष्ठ, कुसुम घिसिङ र शान्ति धिमालले समान १–१ अंक जोड्दै अग्रता बनाएका छन्।

शनिबारसम्म चल्ने प्रतियोगिता

आयोजक समितिका अनुसार तेस्रो चरणबाट प्रतिस्पर्धा झन रोमाञ्चक हुने अपेक्षा गरिएको छ। प्रतियोगिता यही शनिबारसम्म चल्नेछ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्