dosa dosa

उर्मिला श्रेष्ठलाई स्वर्ण , नेपालका अन्य खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

शनिबार, जेठ ३१, २०८२

कोलम्बो: श्रीलंकामा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा नेपाली खेलाडीहरूले चम्किलो प्रदर्शन गर्दै १ स्वर्ण र ३ रजत पदकसहित देशको नाम उच्च राखेका छन्।

प्रतियोगिताको महिला एथलेटिक फिजिक समूहमा नेपालकी उर्मिला श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी हुन्। यो पदकसहित उनले दक्षिण एशियाली मञ्चमा नेपाली महिला शारीरिक सुगठनको गौरव बढाएकी छिन्।

उस्तै, सोही समूहमा सहभागी शीला ठकुरीले पनि रजत पदक जित्न सफल भएकी छन्। यस समूहमा भारतकी साराले काँस्य पदक जितेकी छन्।

पुरुषतर्फ, ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन्। त्यसैगरी, स्पोर्ट्स फिजिक १७५ से.मि. मुनी समूहमा अवतार श्रेष्ठले पनि रजत पदक हात पारेका छन्।

स्पोर्ट्स फिजिक १७५ से.मि. माथिको समूहमा प्रतिस्पर्धा गरेका प्रनिश श्रेष्ठले पाँचौं स्थानमा स्थान बनाउँदै राम्रो प्रस्तुति दिएका छन्।

नेपालको तर्फबाट कुल पाँच खेलाडीले प्रतियोगितामा भाग लिएका थिए। तीमध्ये चार खेलाडीले पदक जित्नु नेपालका लागि ठूलो सफलता हो।

नेपाल शारीरिक सुगठन संघका अनुसार यस सफलताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीहरूलाई थप आत्मविश्वास र प्रेरणा दिनेछ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्