dosa dosa

पुरुषोत्तम सिलवालले पाए अन्तर्राष्ट्रिय चेसमा रजत पदक

बुधबार, जेठ २८, २०८२

काठमाडौं:श्रीलङ्कामा सम्पन्न ‘द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप २०२५’ मा नेपालका युवा चेस खेलाडी सीएम पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेका छन्।

४ देखि १२ जुनसम्म विश्व चेस महासंघ (FIDE) र एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलंका चेस फेडरेसनले प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा आयोजक श्रीलंका सहित नेपाल, बङ्गलादेश, भारत, काजाकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्बेकिस्तान गरी ९ राष्ट्रका ५९ खेलाडी सहभागी थिए।

द्रुत गतिको ब्लिट्ज चेस तर्फ पुरुषोत्तमले निर्णायक सात चरणमध्ये ६ अंक प्राप्त गर्दै २४.५ प्रोग्रेसिभ प्वाइन्ट सहित रजत पदक जिते। प्रतियोगिताको अन्तिम चरणमा उनले २३७९ रेटेड भारतीय अन्तर्राष्ट्रिय मास्टर (IM) मायाङ्क चक्रवर्तीलाई पराजित गर्दै ठूलो चर्चा बटुलेका थिए।

उक्त स्पर्धामा उज्बेकिस्तानका २१२० रेटेड एफएम अबु खाकिमोभ अकबरलीले ६ अंक र २५.५ प्रोग्रेसिभ प्वाइन्ट सहित स्वर्ण पदक जितेका थिए। पुरुषोत्तमले बङ्गलादेशका २१४२ रेटेड IM मनून रेजानीसँगको एक खेलमा पराजय भोगे पनि बाँकी ६ खेलमा शानदार जित निकालेका थिए।

यसपटक मायाङ्क चक्रवर्ती केवल काश्य पदकमा सीमित भए।
यसअघि सिंगापुरमा सम्पन्न फिडे प्रतियोगितामा रुपेश जैशवालले र्यापिडमा रजत र ब्लिट्जमा काश्य जितेका थिए भने कृष्ण थापाले नेपालमै सम्पन्न एशियन एमेच्योर च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए।

सीएम पुरुषोत्तम सिलवालले श्रीलंकामा जारी एशियन जुनियर र्यापिड च्याम्पियनसिप त्याग्दै स्वदेश फर्केका छन्। उनी भोलि देखि काठमाडौंमा सुरु हुने नेशनल युथ च्याम्पियनसिपमा सहभागी हुनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल चेस महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले स्वागत गरेका थिए।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्