सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :बुढानिलकण्ठ नगर युवा परिषद्को आयोजनामा आगामी जेठ २९ देखि ३१ गतेसम्म प्रथम राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा सम्पन्न हुने जानकारी दिइएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगितासम्बन्धी विवरण सार्वजनिक गरेका हुन्। कार्यक्रमको सभापतित्व बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य शान्ता पुडासैनीले गरेकी थिइन्।
प्रतियोगितामा २० वर्ष मुनिका महिला तथा पुरुष खेलाडीहरूले जम्मा दुई लाख ३० हजार रुपैयाँ पुरस्कार राशीका लागि प्रतिस्पर्धा गर्नेछन्।
पुरस्कार विवरण यसप्रकार छ:
यससँगै वर्ष १८, १६, १४, १२, १० र ८ उमेर समूहका उत्कृष्ट छात्र तथा छात्राहरूलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता व्यवस्थापनका संयोजक तथा परिषद्का कार्यकारी सदस्य दीपक तामाङले सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्। प्रतियोगिता नेपाल बुद्धिचाल महासङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ।
महासङ्घका महासचिव धरमबहादुर लामाले प्रतियोगिताको प्राविधिक पक्ष तथा महासङ्घद्वारा सञ्चालन गरिने नियमित प्रतियोगिताहरूको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा महासङ्घका कोषाध्यक्ष ताराबहादुर रानाभाट, बुढानिलकण्ठ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्र लामा, वडा नं. ११ का अध्यक्ष राजु अधिकारी र वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराईको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन कार्यपालिका सदस्य नेहा गुरुङले गरेकी थिइन्। साथै परिषद्का सदस्य सचिव सुरेश कार्की र स्थानीय बुद्धिचाल प्रशिक्षक मिशन बास्कोटाको पनि उपस्थिति रहेको थियो।
यो प्रतियोगिता बुढानिलकण्ठ नगर क्षेत्रमा बुद्धिचालको विकास र युवा सहभागिता वृद्धिका लागि एक महत्वपूर्ण पहलको रूपमा हेरिएको छ।