सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल स्क्वाश एकेडेमी, सतदोबाटोमा सम्पन्न प्रथम बागमती प्रेसिडेण्ट स्क्वाश कप २०८२ मा पुरुष तर्फ अर्हन्त केशर सिम्ह र महिला तर्फ बिपना भ्लोन च्याम्पियन बनेका छन्।
शनिबार सम्पन्न पुरुष फाइनलमा शीर्ष वरियताका खेलाडी अर्हन्तले पाँचौँ वरियताका पासाङ भ्लोनलाई सिधा सेटमा ११–८, ११–९, ११–९ ले पराजित गर्दै उपाधि हात पारे। उनले उपाधिसँगै नगद रु १५,०००, ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे।
उपविजेता पासाङ भ्लोनले रु १०,०००, सिल्भर मेडल र प्रमाणपत्र प्राप्त गरे। तेस्रो स्थानमा रहेका राकेश परियारले रु ७,०००, चौथो भएका प्रज्वल प्रधानले रु ४,०००, ब्रोन्ज मेडल र प्रमाणपत्र हात पारे।
महिला फाइनलमा बिपना भ्लोनले स्वस्थानी श्रेष्ठलाई ११–५, ११–७, ११–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन्। उनले पनि नगद रु १५,०००, ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
स्वस्थानी श्रेष्ठले उपविजेता हुँदै रु १०,०००, सिल्भर मेडल र प्रमाणपत्र प्राप्त गरिन्। तेस्रो स्थानमा अस्मिता नगरकोटीले रु ७,०००, चौथो भएकी साक्षी सुनुवारले रु ४,०००, ब्रोन्ज मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
गर्ल्स जुनियर वर्गमा रेन्सा महर्जन पहिलो हुँदै ट्रफी र नगद रु ६,००० जितिन्। रचना प्रजा दोस्रो (रु ४,०००), नियुक्ति श्रेष्ठ तेस्रो र प्रतिक्षा प्रजा चौथो स्थानमा रहेर मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
नोभिस गल्स समूहमा डोल्मा तामाङ, अलिशा प्रजा, आरोही महर्जन र दीपिका महतले नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे।
नोभिस ब्वाइज समूहमा हेलिस घिसिङ पहिलो हुँदै ट्रफी जिते। रेजन महर्जन दोस्रो, स्वयम श्रेष्ठ तेस्रो र क्रिश श्रेष्ठ चौथो स्थानमा रहे।
समापन समारोहमा प्रमुख अतिथि बागमती प्रदेश सरकारका पूर्वमन्त्री माननीय रामकृष्ण चित्रकारले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरे। कार्यक्रम बागमती प्रदेश स्क्वाश संघका अध्यक्ष अमर राणाको सभापतित्वमा सम्पन्न भएको हो। केन्द्रीय अध्यक्ष ध्रुव बहादुर गुरुङ, पूर्व अध्यक्ष किशोर महर्जन, महासचिव शैलेश अमात्य तथा सचिव महेन्द्रलाल महर्जनको उपस्थिति रहेको थियो।