dosa dosa

स्कुल चेस च्याम्पियनसिप भोलिदेखि

बिहीबार, जेठ २२, २०८२

काठमाडौं:नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा हुने २० औं अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप यही शुक्रबारदेखि सोमबारसम्म काठमाडौंको ज्याठास्थित अन्नपूर्ण स्कुलमा सम्पन्न हुने भएको छ।

महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार, प्रतियोगितामा चार समूहका ३६५ जना छात्र र १५१ जना छात्रा गरी कुल ५१६ जना विद्यार्थीको सहभागीता सुनिश्चित भइसकेको छ।

प्रतियोगिता यु-९, यु-११, यु-१३ र यु-१३ माथिका समूहमा छात्र तथा छात्रा वर्गमा विभाजन गरि सञ्चालन गरिनेछ।

  • यु-९ समूहमा ५२ छात्र र २४ छात्रा,
  • यु-११ समूहमा २३ छात्र र ४० छात्रा,

यी समूहका प्रतिस्पर्धा २३ र २४ गते गरिनेछ।

  • यु-१३ समूहमा ११६ छात्र र ४७ छात्रा,
  • यु-१३ माथिका समूहमा १०६ छात्र र ४० छात्रा,

यी समूहको खेल २५ र २६ गते सञ्चालन हुने छ।

प्रतियोगितामा प्रत्येक समूहका शीर्ष १० जना खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ। मेडलको आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ‘च्याम्पियन शिल्ड’ प्रदान गरिने आयोजकले जनाएका छन्।

अन्नपूर्ण स्कुल खेल विभाग प्रमुख सुरेन्द्र महासेठका अनुसार, ७५ विद्यालयका खेलाडीहरुले सहभागिता जनाउँदै छन्। उत्कृष्ट ठहरिएका विद्यालयका प्रतिनिधिहरूलाई आगामी अगस्ट १५ देखि २५ सम्म मंगोलियामा आयोजना हुने १८ औं एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी गराइनेछ।

प्रतियोगिता संयोजक तथा काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष केशव श्रेष्ठले, भोलिदेखि सञ्चालन हुने यो बृहत् राष्ट्रिय ‘चेस ट्यालेन्ट हन्ट’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्