yt yt

रिसोन थापाले जिते अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि

शनिबार, जेठ १७, २०८२

काठमाडौं :काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोस्रो फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रिसोन थापाले जितेका छन्।

काठमाडौं महानगरपालिका वडा नं. २४ को आयोजनामा सम्पन्न १९०० रेटिङ्ग मुनिको दुईदिने प्रतियोगितामा थापाले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अनुभवी खेलाडीहरूलाई पछि पार्दै उपाधि हात पारेका हुन्।

पाँच देशका १६ विदेशी खेलाडीसहित जम्मा १५४ खेलाडी सहभागी प्रतियोगितामा थापाले ८.५ अंक जोड्दै उपाधिसहित नगद रु. २५ हजार, ट्रफी र स्वर्ण पदक प्राप्त गरे।

१० मिनेट र प्रत्येक चालमा १० सेकेण्ड इन्क्रिमेन्ट समयको र्‍यापिड चेस खेलमा नेपालका प्रेमकृष्ण महर्जन र भारतका शुभम् कुमारले समान ७.५ अंक जोडे। तर, डाइरेक्ट इन्काउन्टर तथा ५२ बुकोल्ज टाइब्रेक प्वाइन्टका आधारमा महर्जन दोस्रो भए। उनले नगद रु. १५ हजार, रजत पदक र प्रमाणपत्र प्राप्त गरे।

भारतको भगलपुर चेस एकेडेमीका शुभम् कुमार ४५ बुकोल्ज प्वाइन्टका आधारमा तेस्रो भए। उनले रु. १० हजार, कास्य पदक र प्रमाणपत्र जिते।

प्रतियोगितामा आठ जना खेलाडीले समान ७ अंक प्राप्त गरेका थिए। तीमध्ये नेपालका बिजेश राजकर्णीकारले ५२.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थान हासिल गर्दै रु. ७ हजार नगद पुरस्कार पाए। यस्तै सुरज सिंले ४९.५ प्रोग्रेसिभ प्वाइन्टसहित पाँचौं स्थान प्राप्त गर्दै रु. ६ हजार जिते।

फिलिपिन्सका लाउरोन जोन पाउल छैठौं, नेपालका मिसन दहाल सातौं, सिएम भगवतीप्रसाद शर्मा आठौं, सुशील सुवेदी नवौं र सन्देश श्रेष्ठ दशौं स्थानमा रहे। उनीहरूले जनही रु. ५–५ हजार नगद पुरस्कार प्राप्त गरे।

विधागत पुरस्कार विजेता

प्रदेशगत रूपमा उत्कृष्ट खेलाडीका रूपमा कोशीबाट महेन्द्रकुमार साम्बाहाम्फे, मधेशबाट सुशील चौधरी, बागमतीबाट पुरुषोत्तम दुवाल, गण्डकीबाट सुरजकुमार गैरे, लुम्बिनीबाट मिलनकुमार रोक्का, कर्णालीबाट निस्तम मल्ल र सुदूरपश्चिमबाट जनकराज जोशीले जनही रु. ४–४ हजार नगद पुरस्कार जिते।

अन्य विधा र समूह विजेता

स्थानीय तर्फ: नरेश स्थापित प्रथम, शुभनदीप थापा द्वितीय।

अनरेटेड खेलाडी: राजेश राई प्रथम, इङ्ल्याण्डका जोसेफ इनल द्वितीय।

सिनियर खेलाडी: जनार्दन श्रेष्ठ प्रथम, आशानारायण लवट द्वितीय।

रेटिङ्ग वर्ग (१८००, १७००, १६००): हर्कबहादुर चोङ्वाङ्ग, गोविन्द खड्का, उज्वल दहाल।

मेर समूह (१८, १६, १४, १२ वर्ष मुनि): सम्उक श्रेष्ठ, आदित्य गजुरेल, कसिभ कार्की, दिपन मैनाली।

महिला तर्फ: शान्ति धिमाल प्रथम, सिन्दिरा जोशी द्वितीय।

समापन समारोह

इटुम्हाल चोकमा सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले विजयी खेलाडीहरूलाई पुरस्कृत गरे।

अध्यक्ष राजभण्डारीले चेस खेललाई जीवनसँग सरोकार राख्ने बौद्धिक खेल भन्दै सबै उमेर समूहका व्यक्तिहरूले यसलाई सिक्नुपर्ने बताए।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाईजू, एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ, एनए असुन राजकर्णीकारलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्