yt yt

शहीद सुरोज शाक्य स्मृति चेस प्रतियोगिता सुरु, वडा नं. ७ र २५ अग्रस्थानमा

बुधबार, जेठ १४, २०८२

काठमाडौं :  काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सुरु भएको "शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२" अन्तर्गत पहिलो दिनका तीन चरणका खेलहरू सम्पन्न भएका छन्।

प्रत्येक वडाबाट ३ खेलाडी सहभागी हुने प्रतियोगितामा टिमको जितमा २ म्याच प्वाइन्ट र बराबरीमा १ म्याच प्वाइन्ट प्रदान गर्ने नियम छ। प्रतियोगितामा काठमाडौं महानगरका २० वटै वडाको सहभागिता रहेको छ।

पहिलो दिनको समग्र नतिजाअनुसार वडा नं. ७ र वडा नं. २५ ले तीनै खेलमा जित हात पार्दै समान ६–६ म्याच प्वाइन्ट जोडेर संयुक्त रूपमा अग्रस्थानमा रहेका छन्।

वडा नं. ७ तर्फ पहिलो बोर्डमा सीएम पुरुषोत्तम चौलागाईं र दोस्रो बोर्डमा सीएम भगवती प्रसाद शर्मा ले समान ३–३ अंक, तेस्रो बोर्डमा सजल न्यौपाने ले २ अंक जोडेका छन्।
वडा नं. २५ तर्फ पहिलो बोर्डमा हिरा काजी श्रेष्ठ र तेस्रो बोर्डमा रिया श्रेष्ठ ले ३–३ अंक, एफएम रिजेन्द्र राजभण्डारी ले १ अंक जोडेका छन्।

त्यसैगरी, वडा नं. २७, ३, १ र २४ ले समान ५–५ म्याच प्वाइन्ट जोड्दै संयुक्त रूपमा दोस्रो स्थानमा अटाउन सफल भएका छन्।

वडा नं. २७ का खेलाडी:

राजेन्द्र बज्राचार्य — २.५ अंक

महेश्वरलाल डंगोल — ३ अंक

विनिता कपाली — २ अंक


वडा नं. ३ का खेलाडी:

जेनिश तामाङ — २.५ अंक

डि.बि. कार्की — २ अंक

अभिनव पाण्डे — ३ अंक


वडा नं. १ का खेलाडी:

विजेश राजकर्णीकार — २ अंक

बुद्धि राजकर्णीकार — २.५ अंक

हर्षवर्धन राठी — ३ अंक


वडा नं. २४ का खेलाडी:

बद्रिलाल नेपाली — ३ अंक

पुण्यमान कर्माचार्य — २.५ अंक

स्पर्श सरावगी — १ अंक

 

पुरस्कार राशिः
प्रतियोगिताको समापनमा विजेता टिमले रु. ५०,०००, उपविजेताले रु. ३५,०००, तृतीय हुनेले रु. २५,००० र चौथो हुने टिमले रु. २०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, व्यक्तिगत विधामा प्रत्येक बोर्डबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन खेलाडीलाई जनही रु. १०,००० प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन वडा नं. २२ का अध्यक्ष चिनिकाजी महर्जन र सहिद सुरोज शाक्यकी आमा कुलदेवी शाक्यले संयुक्त रूपमा चेसको गोटी चलाएर गरेका थिए। सभापति समेत रहेका अध्यक्ष महर्जनले बुद्धिचालजस्तो बौद्धिक खेलको माध्यमबाट वडाहरूलाई खेल क्षेत्रमा उत्प्रेरणा दिन प्रतियोगिता आयोजना गरिएको बताए।

प्रमुख निर्णायक एफए सोराज ताम्राकारका अनुसार संकटा मन्दिरको प्राङ्गणमा भोलि बिहान १० बजेपछि बाँकी खेलहरू सम्पन्न गरिएपछि पुरस्कार वितरण कार्यक्रम हुनेछ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २२:४७
प्रतिक्रिया दिनुहोस्