yt yt

अन्तर्राष्ट्रिय चेस स्पर्धामा नेपालका कमल र निकेन अग्रस्थानमा

शुक्रबार, जेठ ९, २०८२

भक्तपुर :स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रेटिङ्ग २००० मुनि र्यापिड चेस प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएका छन्।

भक्तपुर युवा टिमको आयोजनामा सम्पन्न दुई दिने प्रतियोगितामा नेपाल, भारत र ईङ्गल्याण्डका गरी १२७ खेलाडीहरू सहभागी छन्।

पाँचौं चरणसम्मको खेलमा कमल श्रेष्ठले पूर्णराज खड्कालाई र निकेन कुसाथाले गणेश अवाललाई पराजित गर्दै अगुवाइ लिएका हुन्। १० मिनेट प्लस १० सेकेन्ड प्रति चालको समय नियन्त्रणसहितको यो प्रतियोगिता महेश्वरी बाङ्क्वेट, थुसाछा, भक्तपुरमा भइरहेको छ।

नेपालका प्रकाशचन्द्र नेपाल, भारतका विनायक सिंह यादव, र नेपालकै प्रेमकृष्ण महर्जनले समान ४.५ अंक जोड्दै संयुक्त दोस्रो स्थान हासिल गरेका छन्।

तेस्रो स्थानतर्फ ४ अंकसहित नेपालका पूर्णराज खड्का, भगवती प्रसाद शर्मा, गणेश अवाल, मुहान नरसिंह श्रेष्ठ, नविन तण्डुकार, सन्देश श्रेष्ठ, बिजेश राजकर्णिकार, महेन्द्र कुमार सम्वाहाम्फे र राहुल चौ प्रधान रहेका छन् ।

यस्तै, भारतका आशुतोष कुमार र नेपालका पुरुषोत्तम दुवाल, रिसोन थापा, रमेशवीर माली, स्वर्णीम दुवाल तथा निर्मल सापकोटाले पनि ४ अंक बटुलेका छन्, जसले उनीहरूलाई अझै अगाडि बढ्ने सम्भावना कायम राखेको छ।

ईङ्गल्याण्डबाट सहभागी एकमात्र अनरेटेड खेलाडी वीनल जोसेफले हालसम्म ३ अंक जोडेका छन्।

प्रतियोगितामा आईए तथा फिडे प्रशिक्षक ज्ञानेन्द्र खाइजू मुख्य निर्णायकका रूपमा सक्रिय छन् भने एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ र एनए असुन राजकर्णिकारले प्राविधिक टोलीको रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।

प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवाल र भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले संयुक्त रूपमा चेसको गोटी चालेर गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्