yt yt

‘गब्बर’को लक्जरी लाइफस्टाइल: किने ६९ करोडको नयाँ घर

बुधबार, जेठ ७, २०८२

एजेन्सी-पूर्व भारतीय क्रिकेटर शिखर धवनले रियल इस्टेटमा ठूलो लगानी गरेका छन्।

 धवनले गुरुग्रामको डीएलएफको सुपर लग्जरी आवासीय परियोजना ‘द डाहलियस’ मा ६९ करोड रुपैयाँ मूल्यको अपार्टमेन्ट किनेका छन्। रियल इस्टेट डाटा विश्लेषण गर्ने कम्पनी CRE म्याट्रिक्सका अनुसार, धवनले २०२५ फेब्रुअरी ४ मा भएको दर्ता सम्झौता अनुसार गोल्फ कोर्स रोडमा रहेको ६,०४० वर्ग फिट क्षेत्रफलको यो अपार्टमेन्ट खरिद गरेका हुन्।

यस सम्पत्तिको मूल्य ६५.६१ करोड रुपैयाँ रहेको छ भने थप ३.२८ करोड रुपैयाँ स्ट्याम्प ड्युटी जोडिएपछि कुल मूल्य झण्डै ६९ करोड पुगेको छ।

धवनले गत वर्ष अक्टोबरमा सबै प्रकारको क्रिकेटबाट आफ्नो अवकाश घोषणा गरेका थिए। उनले सन् २०१० मा अष्ट्रेलियाविरुद्ध विसाखापट्टनममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए भने अन्तिम भारतीय खेल २०२२ मा बंगलादेशविरुद्धको ५० ओभरको खेल थियो।

डीएलएफले गत वर्ष अगस्तमा हरियाणाको गुरुग्राममा १७ एकड क्षेत्रफलमा ‘द डाहलियस’ नामक ४२० वटा अपार्टमेन्ट र पेन्टहाउसहरु सहितको आवासीय परियोजना सुरु गरेको थियो। यो ‘द क्यामेलियाज’ नामक परियोजना पछि डीएलएफको दोस्रो सुपर लग्जरी प्रोजेक्ट हो जुन एउटै क्षेत्रमा अवस्थित छ।

क्रिकेटबाट सन्न्यास लिएका धवन अहिले प्रेम सम्बन्धका कारण चर्चामा

शिखर धवनले सन् २०२४ अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट औपचारिक रूपमा सन्न्यास लिएका थिए। उनी अहिले आईपीएलबाट पनि अलग भइसकेका छन्। हाल धवन आफ्नो प्रेमिका सोफी शाइनसँग सार्वजनिक स्थानहरूमा देखिँदै आएका छन्, जसका कारण उनीहरू सामाजिक सञ्जालमा निकै चर्चित छन्।

धवनले अघिल्लो दशकमा अष्ट्रेलियामा पनि एक घर खरिद गरेका थिए, जसको मूल्य झन्डै ७.५ लाख अमेरिकी डलर बताइएको छ। त्यस्तै, दिल्लीमा पनि उनीसँग करिब ५ करोड रुपैयाँ मूल्यको निजी निवास रहेको छ।

धवनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा कुल २६९ खेल खेलेका थिए, जसमा उनले १०,८६७ रन बनाएका थिए। ‘गब्बर’ उपनामले चिनिने धवनले २४ शतक र ५५ अर्धशतकसमेत प्रहार गरेका छन्।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्