सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल बुद्धिचाल महासंघको परिपत्रअनुसार नुवाकोट र भक्तपुर जिल्लामा जिल्ला बुद्धिचाल संघको अधिवेशन सम्पन्न भएको छ।
नुवाकोटमा नयाँ नेतृत्व चयन
नुवाकोटमा ई. सुरज लामाको नेतृत्वमा सात सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ। अधिवेशन प्रकाश जोशीको सभापतित्वमा सम्पन्न भएको थियो। समितिमा नवीन श्रेष्ठ उपाध्यक्ष, हरिचन्द्र अमात्य सचिव र वसन्त श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अन्य सदस्यहरूमा शिव श्रेष्ठ, सुमित जोशी र संजिता श्रेष्ठ चयन भएका छन्।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन प्रमुख अतिथि रहेका कार्यक्रममा महासचिव धरम बहादुर लामाको उपस्थिति रहेको थियो। सो अवसरमा अधिवेशनले निवर्तमान अध्यक्ष प्रकाश जोशीलाई आगामी केन्द्रीय अधिवेशनमा प्रतिनिधिको रूपमा चयन गरेको छ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य संगित श्रेष्ठको रोहबरमा सम्पन्न अधिवेशनले बाग्मती प्रदेश अधिवेशनमा सहभागी हुन सुरज लामा, प्रकाश श्रेष्ठ, अमजद आलम, संजिता श्रेष्ठ र राजन श्रेष्ठलाई प्रतिनिधिको रूपमा पठाउने निर्णय गरेको छ।
भक्तपुरमा बद्रिकेदार दुवाल अध्यक्ष
भक्तपुर जिल्ला बुद्धिचाल संघको अधिवेशन रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न भएको हो। उक्त अधिवेशनबाट बद्रिकेदार दुवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख बिनु पुरी प्रमुख अतिथि रहेको कार्यक्रममा उपाध्यक्षमा रामकुमार माकजु, सचिव किरण गाईजु, सहसचिव किरण प्रजापति, र कोषाध्यक्ष सविना गुज चयन भएका छन्।
महासंघका केन्द्रीय प्रतिनिधि निरञ्जन प्रजापतिको रोहबरमा सम्पन्न अधिवेशनले सदस्यहरूमा सुन्दर श्रेष्ठ, सविना श्रेष्ठ, प्रवेश प्रजापति, एण्डिज ग्वाछा र पदम कृष्ण श्रेष्ठलाई चयन गरेको छ।
नेपाल बुद्धिचाल महासंघले आफ्नो विधानअनुसार ५५ जिल्ला संघलाई जेठ ७ गतेभित्र अधिवेशन सम्पन्न गर्न परिपत्र गरेको छ। समयावधिमा अधिवेशन गर्न नसक्ने जिल्लामा तदर्थ समिति गठन गरिने महासंघले जनाएको छ।