yt yt

राष्ट्रिय रेटिङ चेस: नेपाल च्याम्पियन रुपेश जैशवालको एकल अग्रता

शनिबार, जेठ ३, २०८२

झापा :विर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुङ चुम्लुङको सह–आयोजनामा जारी राष्ट्रव्यापी रेटिङ चेस प्रतियोगिताको दोस्रो दिनको खेल सम्पन्न हुँदा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल ५ अंकसहित एकल अग्रतामा छन्।

उभौली पर्वको अवसरमा विर्तामोड सिटी सेन्टरमा सञ्चालन भइरहेको प्रतियोगिताको चौथो चरणमा रुपेशले झापाका सुमन श्रेष्ठलाई पराजित गरे भने पाँचौँ चरणमा पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंमाथि संघर्षपूर्ण जित निकाले।

पाँच चरणको खेल सकिँदा झापाका पूर्व नेपाल च्याम्पियन राजन सुवेदी, प्रकाश नेपाल, पाँचथरका रिसोन थापा र सुनसरीका राजेन्द्र राई ४.५ अंकसहित संयुक्त दोस्रो स्थानमा रहेका छन्।
राजन सुवेदीले चौथो चरणमा आयोजक क्लबका ज्वाला लिम्बूलाई पराजित गरे भने पाँचौँ चरणमा प्रकाश नेपालसँग बराबरी खेले। प्रकाशले चौथो चरणमा मोरङका लोक सागर साम्बालाई हराएका थिए।

त्यसैगरी, युवा खेलाडी रिसोन थापाले ललितपुरका राजन पुरीलाई हराउनु अघि पूर्व च्याम्पियन नवीन तण्डुकारलाई पराजित गरेका थिए।
राजेन्द्र राईले चौथो चरणमा झापाका विक्रम जीत लिम्बूसँग बराबरी खेल्दा पाँचौँ चरणमा ललितपुरका सुरज महर्जनमाथि जीत निकाले।

यसैबीच, सिएम नवीन तण्डुकार, सिएम पुरुषोत्तम चौलागाईं, सुमन श्रेष्ठ, धिरेन राई (खोटाङ), ज्वाला लिम्बू, राजन कुमार पोखरेल, हिमाल राई (सुनसरी), चुडामणि राई कुलुङ, सुरज राय, मणीराज डाँगी, राज लिम्बू, सचिन कुमार चौधरी र किरण लिम्बूले समान ४ अंक जोडेका छन्।

कुल ९ चरणमा सम्पन्न हुने स्विस लिग प्रणालीको प्रतियोगितामा विजेताले नगद ५१ हजार, उपविजेताले ३५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ३५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्