T10 T10

ओपन फिडे चेसमा नेपाली खेलाडीकाे अग्रता

बिहीबार, वैशाख २५, २०८२
Global

 ललितपुर :  ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रायोजन गरेको दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको पहिलो दिन  सम्पन्न भएको छ । 

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रतियोगितामा नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष् फूँयाल समान ५ अंक जोडेर शीर्ष स्थान ओगटेका छन्। युवा खेलाडी पुरुले सिएम पुरुषोत्तम चौलागाईं र आशीषले प्रकाशचन्द्र नेपाललाई पराजित गर्दै सबै खेल आफ्नो अनुकुल बनाए। 
स्पर्धामा एफएम क्षितिज भण्डारी, एफएम रुपेश जैसवाल र सुरोज महर्जन तिन जना खेलाडीले समान ४.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्।

नेपाल च्याम्पियन रुपेश जैसवाल र क्षितज भण्डारी बिचको खेल बराबरीमा सकेको थियो भने सुरोजले कमल श्रेष्ठ माथि जीत दर्ता गरेका हुन् । यसैगरी भारतीय खेलाडी आशुतोष कुमार यादव ४ अंक बटुलेर तेस्रो स्थानमा रहन सफल भएका छन्। उनी सँगै नेपालका अपत्यारिलो खेलाडी राजु ताम्राकार, प्रेमकृष्ण महर्जन, फुर्वा लामा, एआईएम अभिषेक शाह, पूर्णराज खड्का, प्रेम खड्का, सिएम भगवती प्रसाद शर्मा, बद्रीलाल नेपाली समान ४ अंक प्राप्त गरेका छन्। 
        प्रतिस्पर्धामा प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, हर्क बहादुर चोङ्वाङ, उज्वल दहाल, धिरेन राई, बेदु सरुमगर, योगेश श्रेष्ठ र गणेशबहादुर थापाले ४ अंक जोडेका छन्। 
          यस्तै महिला तर्फ नेशनल बी च्याम्पियन बिनिता कपाली र नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी अग्रस्थानमा रहन सफल भएका छन्। 
          प्रतियोगितामा नेपाल र भारतका १२४ जना खेलाडी सहभागी मध्ये विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथसाथै विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।
      त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन्। तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।
      प्रतियोगितामा उत्कृष्ट १०औं स्थान सम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । विधागत तर्फ उत्कृष्ट तिन जना महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । जसमा पहिलो हुनेले ७ हजार, दोस्रोले ६ हजार र तेस्रो हुने महिलाले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
      यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट नव प्रवेशी अनरेटेड, उत्कृष्ट युवा–१६ (१६ वर्षमुनी), युवा–१८ (१८ वर्षमुनी) खेलाडीहरू,  उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट विमा खेलाडी लगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
     यसअघि भएको समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल र प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष पसाईले चेस खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । 
    सो कार्यक्रममा महासंघका उपाध्यक्ष डिवी बस्नेत, महाप्रबन्धक सुरेश थापा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रि गुरागार्य, नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनको उपस्थिति थियो । प्रतियोगिता २०८२ बैशाख २६ गतेसम्म संचालन हुने छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्