dosa dosa

“भरोसाले थामेको यात्राः स्पोर्टस् हब न्यूज डटकम पहिलो बर्षमा“

बिहीबार, वैशाख १८, २०८२

सम्पादकीय, २०८१ सालको वैशाख १८, अर्थात् मे १—अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन—हामीले एउटा नयाँ यात्रा थालेका थियौं ।

खेलकुदप्रेमीहरूलाई समर्पित अनलाइन मञ्च स्पोर्टस् हब न्यूज डटकम को सुरुवात यहित दिनबाट भयो ।  उद्देश्य थियो—नेपाली खेलकुदलाई समर्पित एक फरक ढंगको, नियमित र जिम्मेवार डिजिटल प्लेटफर्म निर्माण गर्ने ।
हामीले एउटा सानो तर साहसी सपना बोकेर स्पोर्टस् हब न्यूज डटकम सुरु गर्यौं । न ठूला लगानी थिए, न स्थापित सञ्जाल । थियो त केवल एक दृढ इच्छा—नेपाली खेलकुदको आवाज बन्ने र त्यसलाई निष्पक्ष, निष्ठावान रूपमा देशभर पुर्याउने 
तर यो यात्रा सजिलो थिएन । कहिले प्रविधिको अभाव, कहिले समाचार अपडेटमा ढिलाइ, कहिले स्रोतको अभाव र कहिले बाहिरी उपेक्षा—हामीले सबै सामना गर्यौं ।

यथार्थ के हो भने, खेलकुदको अनलाइन पत्रकारिता अझै पनि कतिपयको नजरमा गम्भीरतापूर्वक नलिइने विषय हो । कतिपयले अहिले पनि ’नाक खुम्च्याउने’ गरेका छन् । 
अर्कोतर्फ, स्थापित र ठूला भनिएका मिडियासँग प्रतिस्पर्धा गर्नु निकै कठिन थियो । बजार शून्य जस्तै थियो, प्रायोजक पाउन कठिन, तर हाम्रा लागि जुनसुकै समाचार महत्त्वपूर्ण थिए । किनभने हाम्रा पाठक, हाम्रा प्रेरणा—तपाईंहरू—हामीबाट केही फरक अपेक्षा गरिरहनु भएको थियो ।
आज, एक वर्षपछि, हामी गौरवका साथ भन्न सक्छौं—हामी टिक्यौं । ती सबै आरोह–अवरोह पार गर्दै, स्पोर्टस् हब न्यूज डटकमले आफ्नो पहिलो वर्ष पुरा गरेको छ । र यो सम्भव भयो तपाइको माया, विश्वास र निरन्तर साथले । 
हामीलाई थाहा छ, हामीले चाहेजस्तो गर्न सकेका छैनौँ । अझ धेरै गर्न बाँकी छ । अझ धेरै सुधार, निरन्तरता र गहिराइ आवश्यक छ । तर आजको दिन, हामी केही क्षणलाई स्थिर भएर पछाडि फर्केर हेर्छौं—त्यो पहिलो पोस्टदेखि आजसम्मको यात्रा, ती साना जीतहरू ।

ती पाठकहरूको प्रतिक्रियाहरू, र ती धेरै रातहरू, जुन हामीले तपाईंसम्म सत्य, सन्तुलित र समयसापेक्ष सामग्री पुर्याउने प्रयासमा बितायौं ।
आज हामी गौरवका साथ भन्न सक्छौं—हाम्रा पाठक र समर्थकहरूले मात्र पोर्टल पढेर होइन, हामीलाई जिउन सघाएर साथ दिनुभएको छ । देशका कुनाकाप्चाबाट दैनिक दर्जनौँ पाठकहरूले समाचार, तस्वीर र जानकारी हामीलाई निशुल्क रुपमा पठाइरहनुभएको छ—केवल एउटै उद्देश्यका साथः “हाम्रो खेल, हाम्रो पहिचान”।


हामी अझ प्रतिबद्ध छौं—नेपाली खेलकुदको आवाज बन्न, र तपाईंहरूको भरोसा कायम राख्न । पहिलो बर्षको शुभकामना स्पोर्टस् हब न्यूज डटकमलाई ।  र धन्यवाद तपाईं सबैलाई । हामीसँग हिँडिरहनु भएको यात्रा–साथीहरूलाई । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०५:१५
प्रतिक्रिया दिनुहोस्