२१ खेल संघहरुले अझै गरेनन् नवीकरण ,ताकेता गर्दागर्दै थाक्यो राखेप

बुधबार, जेठ ९, २०८१

काठमाडौँ : राष्ट्रिय मान्यता पाएका खेल संघहरुको नवीकरणको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ताकेता गरिरहेको छ । 
राखेपमा दर्ता भएका ६० वटा संघहरुमध्ये २१ वटा नवीकरण नगरिएको सूचीमा समावेश छ । ती संस्थाहरु नवीकरणका लागि ताकेता गरेपछि केही संघहरु नवीकरणको प्रक्रियामै रहेको राखेपका सूचना अधिकारी खुसराज दाहालले स्पोर्टस् हबलाई जानकारी दिए । 


उनका अनुसार राखेपले नवीकरण नगरेका खेलकुद संघलाई राखेपले १५ दिनको समय दिएर नवीकरण गर्न भनेको छ । केही संघ भने नवीकरणको प्रक्रियामा आइसकेको उनले बताए ।
“कसैको विधान संशोधनको प्रक्रियामा छ, कसैले वार्षिक प्रतिवेदन बुझाउन बाँकी छ, यस्ता यस्ता कुराहरु छन्, उनीहरुले गरिसक्छौँ भनेका छन्।”,  उनले भने, “सामान्य कार्यक्रम, त्रुटीले उहाँहरुले विधि नपुर्याएको हुनाले हामीले वेभसाइटमै राखिदिएपछि उहाँहरुलाई केही दबाब हुने भएकाले यसरी राखेका हौँ।”

“कसैको विधान संशोधनको प्रक्रियामा छ, कसैले वार्षिक प्रतिवेदन बुझाउन बाँकी छ, यस्ता यस्ता कुराहरु छन्, उनीहरुले गरिसक्छौँ भनेका छन्।”,

विधान संशोधन प्रक्रियामा नै रहेका संघहरुलाई पनि नवीकरण नगरिएको सूचीमा राखिएको प्रष्ट पारेको छ । दाहालका अनुसार नवीकरण नगरिएका संघहरुले राखेपले तोकिदिएकै समयभित्र नवीकरण गरिसक्ने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार परिषद्मा दर्ता भएका राष्ट्रिय खेल संघ वा महासंघले ऐनको दफा २६ को उपदफा ९ बमोजिमको दर्ताको मान्य अवधि समाप्त हुनुभन्दा कम्तीमा १५ दिन अगावै प्रत्येकवर्ष नवीकरणको लागि परिषद्मा निवेदन दिनुपर्नेछ । 


नवीकरणका लागि परिषदमा दर्ता भएको प्रमाणपत्रको दर्ता नम्बर र मिति, पछिल्लो वर्षको वार्षिक प्रतिवेदन, खेल संघको विधान, भावी कार्ययोजना, कार्य समितिको आवधिक निर्वाचन भएको मिति, कार्यसमितिका बहालवाला पदाधिकारीहरुको नामावली, अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र खेल संघको स्थायी लेखा नम्बरको प्रमाणको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था छ । 

यी हुन् हालसम्म नवीकरण नगरिएका खेलकुद संघहरु :

१.अखिल नेपाल टेबल टेनिस संघ, लैनचौर काठमाडौं,
२.नेपाल ओलम्पिक कमिटी, ललितपुर सातदोबाटो,
३.नेपाल एथलेटिक्स संघ, त्रिपुरेश्वर काठमाडौं,
४.नेपाल फुलकन्ट्याक कराते संघ त्रिपुरेश्वर काठमाडौं,
५.नेपाल जिम्न्यास्टिक संघ, त्रिपुरेश्वर काठमाडौं,
६.नेपाल जुडो संघ, त्रिपुरेश्वर काठमाडौं
७.नेपाल तेक्वान्दो संघ, सातदोबाटो ललितपुर
८.नेपाल पारा ओलम्पिक कमिटी, जोरपाटी काठमाडौं,
९.नेपाल पौडी संघ, सातदोबाटो ललितपुर,
१०.नेपाल फेसिंग संघ, काठमाडौं,
११.नेपाल ब्याटमिन्टन संघ, त्रिपुरेश्वर काठमाडौं,
१२.नेपाल ब्रेकिन एण्ड डान्स स्पोर्टस संघ,
१३.नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघ
१४.नेपाल विद्यालय खेलकुद महासंघ
१५.नेपाल शारिरिक सुगठन तथा फिटनेश महासंघ, त्रिपुरेश्वर काठमाडौं, 
१६.नेपाल सफ्ट टेनिस संघ,
१७.नेपाल साइक्लिंग संघ,
१८.स्पेशल ओलम्पिक नेपाल संघ,
१९.पर्वतीय खेलकुद महासंघ नेपाल,
२०.राष्टिय बाहिर खेलकुद कमिटी नेपाल,
२१.नेपाल ह्याण्डबल संघ ।


 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्