सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:काठमाडौँ महानगरपालिका वडा नं. २९ को आयोजनामा सञ्चालन भइरहेको प्रथम केएमसी वडा कप खुल्ला फिडे रापिड चेसमा प्रकाश चन्द्र नेपालले अग्रता बनाउन सफल भएका छन्। भारतका बिस खेलाडी सहित २३० जना राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको प्रतिस्पर्धामा झापाका प्रकाशचन्द्रले सत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै अग्रता लिएका छन्। शुक्रबार सम्पन्न ५ चरणको खेलमा भारतका किसन कुमार र दोलखाका आशिष फुयालले समान ५ अंक जोडेर प्रकाशसँगै संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन्। वडाको आफ्नै भवनमा सञ्चालन भइरहेको स्पर्धामा झापाका १९७३ रेटेड राजन सुवेदीले मकवानपुरका २११७ रेटेड एफएम क्षितिज भण्डारी सित बराबरी गर्दै साढेचार अंकका साथ संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्। क्षितिजसँगै बाँकेका १९२८ रेटेड एआईएम अभिक शाह, बनेपाका १९९६ रेटेड शैलेन्द्र न्यौपाने, ललितपुरका २०२१ रेटेड सुरज महर्जन, १९११ रेटेड राजनपुरी र भारतका १७७७ रेटेड शशी प्रकाश समान ४.५ अंक बनाउँदै संयुक्त दोस्रो स्थानमा छन्। नेपालका २०२४ रेटेड प्रकाशचन्द्र नेपालले अग्रिम सैंजु, विनय राई, सुरज सिंह, सुभनदिप र प्रेम खड्कालाई पाखा लगाएका छन्। भारतका १९०९ रेटेड खेलाडी किसन कुमारले अरिज राई, कसिभ कार्की, राजनारायण यादव, प्रतिक सुवेदी र सिएमए सुश्रुत दाहाललाई पन्छाएको छन्। यसै नेपालका २०६९ रेटेड खेलाडी आशिष फूँयालले नेलिसा ओझा, आशानारायण लवट, महेश्वरलाल डंगोल, स्पर्श यादव र सुजन काफ्लेलाई पराजित गरेका छन्। यसैगरी २३ जना शीर्ष खेलाडीहरु समान ४ अंक बनाएर उपाधि होडमा रहेका छन्। प्रतियोगितापूर्व काठमाडौं २९ वडा सदस्य सन्तोष ढुंगेलको सभापतित्वमा प्रमुख अतिथि २९ नम्बर वडाका अध्यक्ष कुश ढकालले खेलाडीहरुलाई शुभकामना मन्तव्य व्यक्त गरेका छन्। वडा अध्यक्ष कुश ढकालले दुई दिन सञ्चालन हुने चेस प्रतिस्पर्धामा जम्मा ३३ जना खेलाडीहरूलाई हाल सम्म कै सर्वाधिक नगद पुरस्कार ३ लाख २८ हजार प्रदान गर्ने जानकारी गराए। संयोजक सन्तोष ढुंगेलका अनुसार विजेता खेलाडीले नगद पुरस्कार रु. ३५ हजार, द्वितीयले रु. ३० हजार, तृतीयले रु. २५ हजार, चौथो हुने खेलाडीले नगद रु. २० हजार प्राप्त गर्ने छन्। यस्तै पाँचौं स्थान देखि सातौं स्थान सम्म आउने खेलाडीले समान नगद पुरस्कार जनही रु. १७ हजार प्राप्त गर्ने जानकारी गराएका छन्। आठौं देखि दशौं हुने खेलाडी जनही १५ हजार, एघारौं देखि पन्ध्रौं सम्मकाले जनही ७ हजार पुरस्कार हात पार्नेछन्। यसैगरी उत्कृष्ट महिला विधा तर्फ प्रथमले ७ हजार, द्वितीयले ६ हजार, तृतीयले ५ हजार पाउने छन्। बेस्ट अनरेटेड प्रथमले ५ हजार, दोस्रो ४ हजार, तृतीय ३ हजार, बेस्ट भेटरान प्रथमले ५ हजार, द्वितीय ४ हजार, तृतीयले ३ हजार पाउनेछ । उत्कृष्ट युवा १४ वर्ष, युवा १२ वर्ष, युवा १० वर्षका खेलाडी, रेटिङ १८०० मुनि, रेटिङ १६०० मुनिका प्रथम द्वितीय तथा तृतीय हुनेलाई पनि नगर पुरस्कार प्रदान गरिने बताए ।