सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १०औँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड–२०८२ आगामी वैशाख १८ गते आयोजना हुने भएको छ।
सोमबार बसेको मञ्च गण्डकीको कार्यसमिति बैठकले अवार्डको मिति तय गरेको हो। बैठक मञ्चका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।
अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्याउँदै आएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा खेल पत्रकारलाई सम्मान गरिने आयोजकले जनाएको छ। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान गरिनेछ।
अवार्डका विधामा लाइफटाइम एचिभमेण्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट उदयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब वा संस्था तथा वर्ष उत्कृष्ट खेल पत्रकार समावेश छन्।
नवौँ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै अध्यक्ष आस्था मगरले १०औँ संस्करणलाई अझै भव्य र प्रभावकारी बनाउन सरोकारवाला सबैको साथ, सहयोग र सुझावसहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
अवार्ड आयोजनाका लागि गण्डकी प्रदेश खेलकुद परिषद् र पोखरा महानगरपालिकाबाट विशेष सहयोग रहने आयोजकले जानकारी दिएको छ।
पोखरा स्पोर्ट्स अवार्डले गण्डकी प्रदेशमा खेलकुदको प्रवर्द्धन तथा खेल पत्रकारिताको सम्मानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।