T10 T10

सातौं मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि सुरु हुँदै

शुक्रबार, पुस १८, २०८२
Global

ललितपुर :ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस २० गते आइतबारदेखि सुरु हुने भएको छ।

वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार खेलकुदमार्फत युवालाई सक्रिय बनाउने, टेबलटेनिस खेलको विकास गर्ने तथा खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा ललितपुर महानगरपालिका भित्रका विभिन्न वडाबाट करिब ३०० खेलाडी सहभागी हुनेछन्। खुल्ला पुरुष, महिला तथा विभिन्न उमेर समूह गरी जम्मा १७ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

अध्यक्ष शाक्यका अनुसार प्रतियोगिताले नयाँ खेलाडीको प्रतिभा पहिचान (ट्यालेन्ट हन्ट) गर्नुका साथै अनुभवी खेलाडीको क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गर्नेछ। प्रतियोगिताका विजेतालाई कुल नगद पुरस्कार रु. ४ लाख २५ हजार, साथै आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा सञ्चालन हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका निर्णायक सहभागी हुनेछन्। खेलहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने र ३ स्टार बल प्रयोग गरिने जिल्ला संघका अध्यक्ष आशिष अवालेले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्