सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:नेपाली खेलकुद पत्रकारिताको सर्वोच्च मञ्च मानिने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आगामी पुस २३ गते पोखरामा आयोजना गर्ने निश्चित गरेको छ। लामो समयको अन्योल र चुनौतीपछि प्रतिष्ठित अवार्ड पुनः नयाँ जोशका साथ फर्किन लागेको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत मञ्चले अवार्ड पोखराको न्यूरोडस्थित पोखरा सभागृहमा आयोजना हुने जानकारी दिएको छ। यसअघि भदौमा तय भएको २२औँ संस्करण जेनजी आन्दोलनका कारण स्थगित हुन पुगेको थियो। आन्दोलनले कार्यक्रमस्थल पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि सम्पूर्ण तयारी नयाँ शिराबाट सुरु गर्नुपरेको मञ्चको भनाइ छ।
होटल, कलाकार र विभिन्न साझेदारसँग भएका सम्झौता रद्द हुँदा आर्थिक तथा व्यवस्थापकीय दबाब बढे पनि ती सबै अवरोध पार गर्दै नयाँ मितिमा अवार्ड सम्पन्न गर्ने तयारी पूरा भएको महासचिव अञ्जन खड्काले बताए।
अवार्डको अघिल्लो दिन पुस २२ गते पोखरामै एनएसजेएफ स्पोट्र्स समिट आयोजना हुनेछ। दुईदिने कार्यक्रमलाई सफल बनाउन अध्यक्ष निरञ्जन अधिकारीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ।
यस वर्ष अवार्डमा नयाँ साझेदार थपिएका छन्। यती एयरलाइन्स ‘पावर्ड बाइ’ सह–प्रायोजकका रूपमा जोडिएको छ भने रोकिएको पिपल्स च्वाइस अवार्डको भोटिङ प्रक्रिया सुरु भइसकेको मञ्चले जनाएको छ। पिपल्स च्वाइसमा उसुकी विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबल टेनिसकी इभाना थापा प्रतिस्पर्धामा छन्।
मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुप यथावत् रहनेछ। साथै पोखरा महानगरपालिकासँग औपचारिक सहकार्य सम्झौता भइसकेको मञ्चले जनाएको छ। सूर्य नेपाल, आईएमई–खल्ती डिजिटल वालेट, केल्मी नेपाल, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, नेपाल पर्यटन बोर्डलगायत विभिन्न संस्थाहरू कार्यक्रमका साझेदार छन्।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा सम्मान प्रदान गरिनेछ। वर्षका उत्कृष्ट खेलाडी (पुरुष–महिला), उत्कृष्ट युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयरलगायत विधा समेटिएका छन्।
वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, युवा र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई एक लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिनेछ।