T10 T10

एपिएफमा राजेन्द्र तामाङको पुनरागमन,खत्री र जिसी अनुबन्ध

बिहीबार, पुस १०, २०८२

काठमाडौँ :एपिएफ फुटबल क्लबले राष्ट्रिय लिगका लागि प्रशिक्षक राजेन्द्र तामाङलाई पुनः मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

यसअघि पुरुष र महिला दुवै टोली सम्हालिसकेका तामाङ फेरि एकपटक पुरुष टोलीको नेतृत्व गर्दै क्लबमा फर्किएका हुन्। एपिएफले प्रशिक्षकसँगै मिडफिल्डर सन्तोष खत्री र फरवार्ड अनिश जिसीलाई पनि अनुबन्ध गरेको छ। खत्री राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन् भने उनले नेपाल सुपर लिगमा ललितपुर सिटीबाट उपाधि जितेका थिए।

सोही टोलीका अनिश पनि एपिएफमा पुनरागमन गरेका हुन्। तामाङले गत वर्ष एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपिएफको नेतृत्व गरेका थिए।

यसअघि २०७६ सालको 'ए' डिभिजन लिगमा पुरुष टोली सम्हाल्दा एपिएफ पाँचौँ स्थानमा सीमित भएको थियो। 'ए' डिभिजन क्लबको हैसियतमा एपिएफ राष्ट्रिय लिग खेल्न लागेको हो।

अघिल्लो 'ए' डिभिजन लिगमा रेलिगेसनमा परे पनि एन्फाको निर्णयपछि एपिएफले शीर्ष डिभिजनको स्थान जोगाएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्