सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को दोस्रो दिनसम्म आदर्श माध्यमिक विद्यालय ६ स्वर्ण, ६ रजत र २ कास्यसहित पदक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा भइरहेको प्रतियोगितामा एभरेष्ट मावि ५ स्वर्ण, २ रजत र ६ कास्यसहित दोस्रो स्थानमा रहेको छ। यस्तै सगरमाथा मावि ३ स्वर्ण, २ रजत र १ कास्यसहित तेस्रो स्थानमा छ।
दोस्रो दिनको प्रतिस्पर्धामा छात्रतर्फ ३ हजार मिटर दौडमा सत्यनारायण माविका चन्दन साहले स्वर्ण जिते। मिल्स माविका चन्दन सहनी रजत र जनता माविका कृष्ण अधिकारी कास्यमा सीमित भए। छात्रातर्फ सोही इभेन्टमा आदर्शकी अर्चना राजवंशी स्वर्ण, जनताकी बबिता राना रजत र सत्यनारायणकी आँचल मण्डल कास्य पदक विजेता बने।
हाइजम्प छात्रतर्फ पोखरीया माविका हरिबहादुर परियारले स्वर्ण जित्दा सत्यनारायणका प्रियान्सु साह रजत र जनताका राहुल यादव कास्यमा रहे। सटपुट छात्रातर्फ सेन्ट मेरीकी उर्जा भट्टराई स्वर्ण, आदर्शकी अन्जिला भट्टराई रजत र मदर टेरेसाकी पूजा यादव कास्य पदक जितिन्।
त्यस्तै ८ सय मिटर दौड छात्रातर्फ जनताकी भूमिका राजवंशीले स्वर्ण, आदर्शकी निसा मण्डलले रजत र पोखरीयाकी पवित्रा कामतले कास्य पदक हात पारिन्।
पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर महानगरपालिका क्षेत्रका ६५ विद्यालयका १ हजार ५ सय २५ विद्यार्थी सहभागी छन्। प्रतियोगितामा छात्र र छात्रातर्फ समान ६६–६६ गरी १३२ पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट तथा ट्र्याक एन्ड फिल्डका विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ।