T10 T10

विराटनगर महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

बिहीबार, पुस १०, २०८२

विराटनगर :विराटनगरस्थित शहीद रंगशालामा सुरु भएको विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को पहिलो दिन एभरेष्ट माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण पदक जित्न सफल भएको छ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो दिन एभरेष्टले दुई स्वर्ण जित्दा श्री जनता नमुना माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयले भने एक–एक स्वर्ण पदक आफ्नो नाममा लेखाए।
छात्रतर्फको सटपुट थ्रो प्रतियोगितामा एभरेष्ट माविका कुशल अधिकारी स्वर्ण पदक विजेता बने। उक्त इभेन्टमा ग्रेडेड माध्यमिक विद्यालयका अमृत राज साह ले रजत तथा श्रीमिल्स माध्यमिक विद्यालयका रुपेश राजवंशी ले कास्य पदक प्राप्त गरे।
छात्रातर्फको सटपुट थ्रोमा एभरेष्ट माविकी आस्ना गिरी ले स्वर्ण जित्दा, श्री जनता नमुना माध्यमिक विद्यालयकी बबिता राणा ले रजत र आदर्श माध्यमिक विद्यालयकी रानी कुमारी सिंह ले कास्य पदक जितिन्।
यसैगरी, छात्रतर्फको १५०० मिटर दौड मा श्री जनता नमुना माध्यमिक विद्यालयका समिर राजवंशी स्वर्ण पदक विजेता बने। श्री सत्यनारायण माध्यमिक विद्यालयका प्रियांशु साह ले रजत र आदर्श माध्यमिक विद्यालयका गगन काजुन लिम्बू ले कास्य पदकमा चित्त बुझाए।
छात्रातर्फकै १५०० मिटर दौड मा आदर्श माध्यमिक विद्यालयकी अर्चना कुमारी राजवंशी ले स्वर्ण जितिन् भने श्री जनता नमुना माविकी बबिता राणा ले रजत र श्री सत्यनारायण माविकी आँचल मण्डल ले कास्य पदक हासिल गरिन्।
एभरेष्ट माध्यमिक विद्यालयका प्राचार्य टिकाराम पुरी का अनुसार प्रतियोगिताको पहिलो दिन भलिबल, कबड्डी तथा विभिन्न ट्रयाक एण्ड फिल्ड इभेन्टका प्रारम्भिक चरणका खेलहरू समेत सम्पन्न भएका छन्।
पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका ६५ विद्यालय का १ हजार ५ सय २५ जना विद्यार्थी सहभागी हुनेछन्। प्रतियोगितामा छात्र र छात्रातर्फ ६६–६६ गरी जम्मा १३२ पदक का लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट तथा ट्रयाक एण्ड फिल्डका विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्