T10 T10

मैदानबाहिर एमबाप्पेको 'सुपर गोल': पीएसजीबाट पौने ९ अर्ब असुल्दै

के हो चर्चामा रहेको 'इथिक्स बोनस'?
बुधबार, पुस ९, २०८२

काठमाडौं:- फ्रान्सेली स्टार किलियन एमबाप्पेले आफ्नो पूर्वक्लब पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्धको कानुनी युद्ध जितेका छन्।

यो जितसँगै उनले क्लबबाट ६० मिलियन युरो (करिब ८ अर्ब ८० करोड नेपाली रुपैयाँ) प्राप्त गर्ने भएका छन्।

एमबाप्पेको जित र पीएसजीलाई झड्का

एमबाप्पेले पीएसजी छोडेर रियल मड्रिड जाँदा क्लबले उनको बाँकी तलब र बोनस रोक्का गरेको थियो। तर, अदालतले एमबाप्पेको पक्षमा फैसला गर्दै १५ लाख युरो 'इथिक्स बोनस' सहित सबै बक्यौता तिर्न पीएसजीलाई आदेश दिएको छ। यो फैसलाले खेलाडीको अधिकार र फ्रान्सेली श्रम कानुनको शक्तिलाई पुनः पुष्टि गरिदिएको छ।

तर, यो विशाल रकममा समावेश एउटा शीर्षकले सबैको ध्यान खिचेको छ— 'इथिक्स बोनस'।

के हो 'इथिक्स बोनस'?

सामान्यतया इंग्ल्याण्ड वा अन्य देशका क्लबहरूले खेलाडीले अनुशासन तोडेमा उनको तलब काट्ने गर्छन्। तर, फ्रान्सेली कानुन निकै फरक छ। त्यहाँ रोजगारदाताले कर्मचारी वा खेलाडीको आधारभूत तलबबाट एक पैसा पनि कट्टा गर्न पाउँदैनन्। यही कानुनी जटिलतालाई चिर्न फ्रान्सेली क्लबहरूले एउटा जुक्ति निकाले— 'इथिक्स बोनस'।

  • खेलाडीको कुल तलबलाई दुई भागमा बाँडिन्छ: आधारभूत तलब र इथिक्स बोनस।

  • यदि खेलाडीले गल्ती गरेमा क्लबले तलब काट्दैन, बरु यो 'बोनस' दिन इन्कार गर्छ।

बोनस पाउन के-के गर्नुपर्छ

यसअघि पीएसजीमै रहँदा नेयमारको सम्झौता सार्वजनिक हुँदा इथिक्स बोनसका अनौठा सर्तहरू बाहिर आएका थिए। यो बोनस सुरक्षित गर्न खेलाडीले निम्न 'शिष्टता' देखाउनुपर्छ:

  1. समर्थकलाई अभिवादन: खेल सुरु हुनुअघि र सकिएपछि फ्यानहरूलाई हात हल्लाउने वा अभिवादन गर्ने।

  2. समयको पालना: ट्रेडिङ सेसनमा ढिलो नगर्ने।

  3. शिष्ट व्यवहार: रेफ्री र प्रायोजकहरूसँग जिम्मेवार ढङ्गले प्रस्तुत हुने।

  4. नो बेटिङ: कुनै पनि प्रकारको सट्टेबाजीमा संलग्न नहुने।

  5. क्लबको इज्जत: मिडियामा क्लबको छवि बिग्रने गरी आलोचना नगर्ने।

 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्