मेसी हेर्न पुगेका फ्यान भड्किए,रंगाशालामा तोडफोड

शनिबार, मंसिर २७, २०८२

काठमाडौँ:विश्व फुटबलका सुपरस्टार लियोनल मेसी ‘ग्रेटेस्ट अफ अल टाइम (GOAT) टुर’ अन्तर्गत शनिबार भारतको कोलकाता पुगे। उनी सॉल्ट लेक स्टेडियममा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएका थिए।

तर मेसी कार्यक्रमबाट बाहिरिएपछि उनलाई प्रत्यक्ष देख्ने आशामा स्टेडियम पुगेका फ्यानहरू आक्रोशित बने। फ्यानहरूले खराब व्यवस्थापनका कारण मेसीलाई देख्न नपाएको आरोप लगाएका छन्।

स्टेडियमभित्र कुर्सी र बोतल फालिएको तथा तोडफोड गरिएको तस्बिरहरू सार्वजनिक भएका छन्। आक्रोशित फ्यानहरूले आयोजकविरुद्ध नाराबाजी गर्दै टिकटको पैसा फिर्ता गर्न माग गरेका छन्।

एक फ्यानले कार्यक्रममा सबैभन्दा सस्तो टिकट नै ५ हजार रुपैयाँ रहेको दाबी गर्दै, यति महँगो टिकट किन्दा पनि मेसीलाई देख्न नपाएको गुनासो गरे। उनले प्रहरीमाथि पनि अनुचित कारबाही गरेको आरोप लगाउँदै टिकटको रकम फिर्ता माग गरे।

अर्का एक फ्यानले आफूहरू ठगिएको अनुभूति भएको बताउँदै भने, “हामी सबै मेसीलाई हेर्न आएका थियौँ, तर आम दर्शकले केही पनि देख्न पाएनन्।” उनले आरोप लगाए कि मन्त्रीहरू आफ्ना परिवारसहित कार्यक्रममा उपस्थित थिए, तर सर्वसाधारण फ्यानहरू मेसीको झलकसमेत पाउनबाट वञ्चित भए।

घटनापछि स्टेडियमको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने आयोजक पक्षबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्