सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ।
ललितपुर क्यास्पियन कलेजमा पाँच दिनसम्म चलेको सात चरणको प्रतियोगितामा दोलखा चेस होम्सले ६ जित र १ हारसहित १२ अंक र २० प्रोग्रेसिभ प्वाइन्ट जोड्दै राष्ट्रिय च्याम्पियन बन्न सफल भयो।
यस्तै, दोलखाकै अर्को टिम दोलखा जिल्ला संघले १२ अंक र १९.५ प्रोग्रेसिभ प्वाइन्टसहित दोस्रो स्थान हासिल गर्यो। प्रतियोगिताभर स्थिर प्रदर्शन गरेको ललितपुर महालक्ष्मी नगरपालिकाले १० अंकसहित तेस्रो स्थानमा रह्यो।
ललितपुर महानगरपालिकाले महत्त्वपूर्ण खेलहरू गुमाए पनि ९ अंकसहित चौथो स्थानमा उभियो। गत संस्करणको विजेता थापाथली चेस पार्क यसपटक ९ अंकमात्र जोडेर पाँचौं स्थानमा सीमित रह्यो।
अन्य टिमतर्फ, बुटवल उपमहानगरपालिकाले ८ अंक र १७.५ प्रोग्रेसिभ प्वाइन्टसहित छैटौं र मध्यपुर ठिमी नगर चेस संघले ८ अंक र १५.५ प्रोग्रेसिभ प्वाइन्टसहित सातौं स्थान ओगट्यो।
व्यक्तिगत उत्कृष्टतामा – महालक्ष्मी नगरपालिकाका क्षितिज भण्डारी, सुरोज महर्जन र कमल श्रेष्ठ – दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईं – र मध्यपुर ठिमीका अभिक शाह उत्कृष्ट घोषित भए। उनीहरूले जनही नगद १० हजार प्राप्त गरे।
शीर्ष चार टिमले क्रमशः नगद २ लाख, १ लाख, ६० हजार र ४० हजार, साथमा पदक र ट्रफी पाए।
समापन समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्दै बौद्धिक खेल चेसको प्रवर्द्धनमा महानगरले सहयोग जारी राख्ने बताइन्।
कार्यक्रममा क्यास्पियन कलेजका प्रिन्सिपल प्रनिष पाण्डे, महासंघका उपाध्यक्ष माधवप्रसाद प्रधान र कोषाध्यक्ष तारा बहादुर रानाभाट लगायतको उपस्थिति थियो।