तुल्सीलाल स्मृति चेस: दोलखा चेस होम्स र दोलखा जिल्ला संघ उपाधि नजिक

बुधबार, मंसिर २४, २०८२

ललितपुर:ललितपुरको क्यास्पियन कलेजमा जारी ८औँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपमा दोलखा चेस होम्स र दोलखा जिल्ला संघ उपाधि नजिक पुगेका छन्। प्रतियोगिताको छैटौँ चरणमा दुवै टिमले जीत दर्ता गर्दै १०–१० अंक जोडेर संयुक्त अग्रता लिएका हुन्।

पहिलो टेबलमा दोलखा चेस होम्सले महालक्ष्मी नगरपालिकालाई २.५–१.५ ले पराजित गरेको छ। टिमका पुरुषोत्तम चौलागाईंले सुरोज महर्जनमाथि जित निकाल्दै एक अंक दिलाए भने रुपेश जैसवाल, ज्वाला इम्बुङ्ग र राजन सुबेदीले आफ्ना खेल बराबरीमा सके।

दोस्रो टेबलमा दोलखा जिल्ला संघले ललितपुर महानगरपालिकालाई २.५–१.५ ले हराएको छ। चौथो बोर्डमा बद्रीलाल नेपाली विजयी बनेका छन् भने अन्य खेल बराबरीमा टुंगिएका छन्।

यसअघि पाँचौं चरणमा महालक्ष्मी नगरपालिकाले दोलखा जिल्ला संघसँग २–२ को बराबरी खेलेको थियो।

अर्को खेलमा दोलखा चेस होम्सले ललितपुर महानगरपालिकामाथि ४–० को सहज जित दर्ता गरेको छ। टिमका चारै खेलाडी—रुपेश जैसवाल, पुरुषोत्तम चौलागाईं, ज्वाला इम्बुङ्ग र राजन सुबेदी—विजयी बने।

साबिक विजेता थापाथली चेस पार्कले ६ खेलबाट ४ जीत, १ बराबरी र १ हारसहित ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रतियोगिताको सातौँ चरण बिहीबार बिहान ९ बजेदेखि सुरु हुने छ। अन्तिम खेलपछि ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको संयोजक राजु ताम्राकारले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्