सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
ललितपुर:ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा जारी ८ औं तुल्सीलाल स्मृति टिम चेस प्रतियोगिता को दोस्रो दिन महालक्ष्मी नगरपालिकाको टिम शानदार प्रदर्शन गर्दै पूर्ण ४ अंकसहित अग्रस्थानमा उक्लिएको छ।
पहिलो चरणमा पूर्वेली ब्रदर्शलाई ४–० ले पन्छ्याएको महालक्ष्मी टिमले दोस्रो खेलमा पेभिलियन चेस एकेडेमीलाई पनि ४–० ले नै पराजित गर्दै प्रभावशाली दुवै जित आफ्नो पक्षमा पारेको हो। एफएम क्षितिज भण्डारी, सुरोज महर्जन, अशोक मोहन श्रेष्ठ, शैलेन्द्र न्यौपाने र कमल श्रेष्ठ सबैले आफ्ना–आफ्ना बोर्डमा उत्कृष्ट जित दिलाउँदै टोलीलाई टाइब्रेक ८ प्वाइन्टका आधारमा शीर्ष स्थानमा पुर्याए।
त्यस्तै, साबिक विजेता थापाथली चेस पार्क पनि शानदार लयमै— ४ अंक र टाइब्रेक ७.५ प्वाइन्टसहित दोस्रो स्थानमा छ। थापाथलीले पहिलो चरणमा सुदूरपश्चिमलाई ४–० र कास्कीलाई ३.५–०.५ ले हराएको थियो। सुश्रुत दहाल, आशिष फुयाल, सबिन चन्द्र घिमिरे र सुजन काफ्लेले टोलीका लागि महत्वपूर्ण अंक बटुले।
तेस्रो स्थानमा छ— ललितपुर महानगरपालिका। ४ अंक र टाइब्रेक ७ प्वाइन्टका आधारमा महानगरको प्रदर्शन पनि प्रशंसनीय रह्यो। भक्तपुरलाई ३–१ र आयोजक ललितपुर स्पोर्ट्स क्लबलाई ४–० ले पराजित गर्दै महानगर शीर्ष तीनमा उक्लिएको हो।
प्रतिस्पर्धामा दोलखा जिल्ला संघ ४ अंक र टाइब्रेक ६.५ सहित चौथो स्थानमा रह्यो भने दोलखा चेस होम्स ४ अंक र टाइब्रेक ५ सहित पाँचौं स्थानमा।
आजको खेल बाग्मती गाउँपालिकाका अध्यक्ष बीरबहादुर लामा तथा ललितपुर महानगर वडा २० का अध्यक्ष चन्द्र महर्जनले उद्घाटन गरेका थिए।