थाइल्यान्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना हुने

आइतबार, मंसिर २१, २०८२

बैंकक :गौतम बुद्धको जन्मजयन्तीका अवसरमा थाइल्यान्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गर्ने तयारी भएको छ। नेपाली दूतावास बैंककले २०८३ साल बैसाख महिनाको तेस्रो हप्ता, अर्थात् सन् २०२६ मे महिनाको पहिलो हप्ता, कार्यक्रम गर्ने योजना अघि सारेको हो।

म्याराथनमा १० किलोमिटर तथा ५ किलोमिटर दुबै दूरीका दौड समावेश गरिने दूतावासले जनाएको छ।

यस सम्बन्धमा आज बैंककस्थित नेपाली राजदूतावासमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा एक विशेष छलफल कार्यक्रम सम्पन्न भयो। छलफलमा नेपाल एयरलाइन्स, एनआरएनए–थाइल्यान्ड, थाई–नेपाल संघ, थाई–नेपाल फ्रेन्डसिप एसोसिएसन, विश्वविद्यालयका प्राध्यापक–विद्यार्थी, थाइल्यान्डमा रहेका नेपाली उद्यमी तथा केही थाई नागरिकको समेत सहभागिता थियो।

कार्यक्रमको सफल आयोजनाका लागि नेपाली राजदूत धन बहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोति बहादुर श्रीसको संयोजकत्वमा एक आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ।

उपसमिति तथा संयोजक

बजेट तथा कोष व्यवस्थापन – कुमार कार्की

व्यवस्थापन एवं समन्वय – मुन गुरुङ

सूचना प्रविधि तथा प्रचार–प्रसार – विप्लव रेग्मी

प्राविधिक तथा स्थलगत व्यवस्थापन – प्रेम अधिकारी

नेपालमा समन्वय तथा प्रचार–प्रसार – विक्रम पाँडेको र टी एस ठकुरी


दूतावासका अनुसार म्याराथन कार्यक्रमले गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनी, नेपाली पर्यटन, नेपाली परिकार, संस्कृति, र निर्यातयोग्य वस्तुहरूलाई थाइल्यान्ड तथा अन्तर्राष्ट्रिय समुदायमा प्रभावकारी रूपले परिचित गराउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्