T10 T10

आइतबारदेखि आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप

शनिबार, मंसिर २०, २०८२
Global

ललितपुर :ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप आइतबारदेखि सुरु हुँदैछ।

प्रतियोगिताका सबै तयारी पूरा भएको संयोजक राजु ताम्राकारले जानकारी दिए। पाँच दिनसम्म चल्ने यो प्रतियोगितामा प्रत्येक टिममा २ हजारभन्दा माथि रेटिङ भएका एक तथा अन्य चार गरी पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यस वर्ष नेपालभरका २४ टिमले सहभागिता सुनिश्चित गरेका छन्। सहभागी टिममध्ये आयोजक ललितपुर स्पोर्ट्स क्लबसँगै ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर जिल्ला बुद्धिचाल संघ, गत संस्करणका विजेता थापाथली क्लब चेस पार्क, दोलखा चेस होमसमेत छन्।

त्यस्तै भक्तपुर जिल्ला बुद्धिचाल संघ, सप्तरी जिल्ला बुद्धिचाल संघ, मध्यपुर नगरपालिका बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, सुदूरपश्चिम बुद्धिचाल संघ, मेची नगरपालिका, पाँचथर जिल्ला बुद्धिचाल संघ, बुटवल उपमहानगरपालिका पनि प्रतिस्पर्धामा उत्रिनेछन्।

अर्कातर्फ युथ स्टेप्स टुवार्ड्स चेन्ज, पूर्वेली ब्रदर्स टिम, कुमारीपाटी चेस क्लब, हिमालयन चेस एकेडेमी, काठमाडौं चेस क्लब, ललितपुर चेस क्लब, पुल्चोक चेस क्लब र दोलखा जिल्ला बुद्धिचाल संघ पनि सहभागी हुने क्लब सूचीमा छन्।

प्रतियोगिता ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजमा सञ्चालन हुनेछ। विजेता टिमले नगद २ लाख, उपविजेताले १ लाख, तृतीयले ६० हजार र चौथो हुने टिमले ४० हजार पुरस्कार प्राप्त गर्नेछ। पाँचौँदेखि सातौँ स्थानसम्म रहने टिमले समान २० हजार तथा उत्कृष्ट पाँच खेलाडीले जनही १० हजार पुरस्कार पाउनेछन्।

आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले बाग्मती सरकार र ललितपुर महानगरपालिकाको सहयोगमा निरन्तर हुँदै आएको प्रतियोगितालाई सफल बनाउन सञ्चारकर्मीहरूको सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्