विश्वकप लिग-२ :नेपालले आज युएईसङ्ग प्रतिस्पर्धा गर्दै

बुधबार, कात्तिक १९, २०८२

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपाल आज यूएईसँग आमनेसामने हुँदैछ। दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल बिहान ११ः१५ बजेबाट सुरु हुने तय भएको छ।

नेपालका लागि यो सिरिजको अन्तिम खेल हो। यस पटकको प्रतियोगितामा नेपाल, यूएई र अमेरिका सहभागी छन्।

यसअघि नेपालले अमेरिकाविरुद्ध खेलेका दुई खेलमै हार बेहोरेको थियो — पहिलो खेलमा १०६ रनले र दोस्रो खेलमा ४ विकेटले। त्यस्तै यूएईसँगको पहिलो भेटमा पनि नेपाल ५ विकेटले पराजित भएको थियो।

हालसम्मको अंकतालिकामा नेपालले १९ खेलमा १२ अंक जोड्दै सातौँ स्थानमा सीमित छ। अमेरिका भने २३ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। यूएईले पनि १९ खेल खेलेको छ तर जम्मा ८ अंकसहित तालिकाको अन्त्यमा छ।

आजको खेलपछि नेपाली टोली स्वदेश फर्किनेछ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०६:२७
प्रतिक्रिया दिनुहोस्