बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त

सोमबार, कात्तिक १०, २०८२

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश तथा प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको मन्त्रिपरिषद् विस्तार गर्दै बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेकी छन् ।

गुप्ताले आइतबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई र स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त डा. सुधा शर्मा गौतमलाई एकै समारोहमा शपथ दिलाएका हुन् ।

गत भदौ २३ गते जेनजी युवाहरूको आन्दोलनमा भएको सरकारी दमनपछि मुलुकको राजनीतिक परिस्थिति अचानक बद्लिएको थियो । भदौ २४ मा आन्दोलन तीव्र बन्दै गएपछि तत्कालीन कांग्रेस–एमाले गठबन्धन सरकार पतन भएको थियो । त्यसपछि नयाँ राजनीतिक समीकरणबाट सुशीला कार्की देशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरेकी हुन् । यसअघि उनले भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । गुप्ता र गौतमको नियुक्तिसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् अहिले १० सदस्यीय बनेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्