T10 T10

नेपाल सम्वत बुद्धिचाल प्रतियोगितामा निकेन कुसाथा विजयी

बुधबार, कात्तिक ५, २०८२
Global

भक्तपुर:नेपाल सम्वत् ११४६ नयाँ वर्षको अवसरमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा आयोजना गरेको जिल्लाव्यापी बुद्धिचाल प्रतियोगितामा निकेन कुसाथा विजयी भएका छन्।

३ मिनेट २ सेकेन्ड इनक्रिमेन्ट समयसहितको द्रुत गतिको खेलमा ५२ जना प्रतिस्पर्धी सहभागी थिए। १९४६ रेटेड निकेन कुसाथाले सात चरणमा ६ दशमलव ५ अंक जोड्दै पहिलो स्थान हासिल गरे।

त्यस्तै, १८८७ रेटेड विजय जतीले ६ अंक र ३०.५ प्रोग्रेसिभ प्वाइन्टसहित दोस्रो स्थान पाए भने १७९२ रेटेड जगन्नाथ ताम्राकारले समान ६ अंक जोडी २६.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा तेस्रो स्थान हासिल गरे।

१९८८ रेटेड पहिलो वरियताका खेलाडी राजेश कक्षपति ५ अंकसहित चौथो भए। त्यस्तै, क्रमशः विकास कुलुजु, सुमन सुवाल, प्रेम खड्का, निर्मल सुवाल, राजाराम दुवाल र गणेश अवाल शीर्ष दसमा परे।

संघका अध्यक्ष बद्री केदारका अनुसार नेपाल सम्वतको नयाँ वर्षको दिन यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको हो।

यसैबीच, नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य निरञ्जन प्रजापतिले नेपाल सम्वत् ११४६ को उपलक्ष्यमा नयाँ क्यालेन्डर प्रकाशन गरी तिथिमिथिको विषयमा जनचेतना फैलाउने उद्देश्य सफल भएको बताएका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्