अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाल छैंटौं स्थान प्राप्त, ब्लिट्ज खेल आइतबारबाट शुरु हुने

आइतबार, असोज ५, २०८२

काठमाडौं :रूसको गणराज्य काल्मिकियामा जारी प्रथम बुद्धिस्ट चेस प्रतियोगितामा नेपालले र्‍यापिड चेसतर्फ छैटौं स्थान हासिल गरेको छ।

१५ मिनेट १० सेकेन्ड इनक्रिमेन्ट समय नियन्त्रणमा सम्पन्न र्‍यापिड खेलमा आयोजक काल्मिकिया २०.५ अंकसहित पहिलो, रसियाकै बुयाटिया १८ अंकसहित दोस्रो र फिलिपिन्स १५.५ अंकसहित तेस्रो भएका छन्। नेपालले १२.५ अंक जोड्दै छैटौं स्थान सुरक्षित गरेको हो।

व्यक्तिगत उत्कृष्ट प्रदर्शनतर्फ हंगेरीका ग्रान्ड मास्टर स्जुगिरोभ सनानले ८ अंक जोडे भने नेपालका सीएम पुरुषोत्तम सिलवालले ५ अंक, शैलेन्द्र न्यौपानेले ४.५ अंक र सिन्दिरा जोशीले ३ अंकको योगदान दिएका छन्।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले नेपाली खेलाडीहरूको प्रदर्शनप्रति सन्तोष व्यक्त गर्दै सीएम पुरुषोत्तम सिलवालले उच्च स्तरका खेलाडीलाई हराउनु असाधारण उपलब्धि भएको बताएका छन्।

प्रतियोगिताको ब्लिट्ज चेस आइतबारदेखि सुरु हुने आयोजकहरूले जनाएका छन्।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्