hERO hERO

युथ, क्याडेट तथा वोमेन चेस भदौको दोस्रो साता, विदेशी प्रशिक्षक आईएम बख्तियार काठमाडौंमा

मंगलबार, भदौ १०, २०८२

काठमाडौँ :नेपाल बुद्धिचाल महासंघको आयोजनामा भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना हुने प्रतियोगितामा देशभरका ५ सयभन्दा बढी विद्यार्थी खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगिता ६ फरक उमेर समूह—१८, १६, १४, १२, १० र ८ वर्ष मुनिमा विभाजित हुनेछ। प्रतियोगितामा कुल ३ लाख ३६ हजार रुपैयाँ नगद पुरस्कार रहनेछ। प्रत्येक समूहका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजारसहित प्रमाणपत्र र पदक प्राप्त गर्नेछन्।

चौथोदेखि दशौं स्थानसम्मका खेलाडीहरूलाई पनि नगद पुरस्कार दिइनेछ। यस च्याम्पियनसिपका लागि एफएसआई प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभ र काजाकिस्तान चेस फेडेरेसनका उपाध्यक्ष ग्रान्ड मास्टर दर्मेन सद्भाकासोभ बिहीबार नेपाल आइपुग्नेछन्।

साथै, विश्व बुद्धिचाल महासंघ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा सुपर ग्रान्ड मास्टर भिक्टोर बोलोगन शुक्रबार नेपाल आउने कार्यक्रम छ। प्रतियोगिताको तयारीलाई सहयोग गर्न नेपाल र काजाकिस्तान चेस महासंघबीच सम्झौता भइसकेको छ।

कुल १० लाख खर्च हुने प्रतियोगितामा काजाकिस्तान चेस फेडेरेसनले नगद पुरस्कार सहयोग गरेको छ भने राष्ट्रिय खेलकुद परिषदले पनि आर्थिक सहयोग गर्ने भएको छ। यसैबीच, नेपाली खेलाडीलाई प्रशिक्षण दिन काजाकिस्तानका इन्टरनेशनल मास्टर बख्तियार आस्कारोभ नेपाल आएका छन्।

दरबारमार्गस्थित होटल उड ल्याण्डमा पन्ध्र दिनसम्म चल्ने उक्त प्रशिक्षणमा २० जना राष्ट्रिय खेलाडी लाभान्वित हुनेछन्।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्