diwpawali diwpawali

नेपाल प्रहरी विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु

आइतबार, भदौ १, २०८२

काठमाडौं : सामाखुसीस्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा दोस्रो एनपिएस विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ। शनिबारदेखि सुरु भएको प्रतियोगितामा सिनियर र जुनियर दुवै समूहका छात्र–छात्रा चारै समूहतर्फ चौथौं चरणसम्मका खेल सम्पन्न भएका छन्।

कक्षा ९ देखि १२ सम्मका सिनियर छात्र समूहमा मोडर्न इन्डियन स्कुलका आशिष गुप्ता, बृहस्पति विद्या सदनका अर्हान्त महर्जन, क्यानभास इन्टरनेसनल कलेज बसुन्धराका अल सैयद मोहम्मद जस्मिन र मातृभूमि बोर्डिङ स्कूलका सविन प्रजापतिले पूर्ण ४ अंक जोडेर संयुक्त अग्रता लिएका छन्।
यसै समूहमा डाफोडिल सेकेन्डरी बोर्डिङ स्कुलका सूर्य पौडेल, सेन्ट जेभियर्स स्कुलका सविध ढुङ्गाना, मार्भलस ईङ्ग्लिस सेकेन्डरी स्कुलका सफल खड्गी, माउन्ट ग्लोरी इन्टरनेसनल स्कुलका आयुष भण्डारी, सम्पदा विद्या मन्दिरका डेविड श्रेष्ठ, जेभियर्स एकेडेमीका साहिल श्रेष्ठ, शिवपुरी सेकेन्डरी स्कुलका प्रविन राना मगर, क्यापिटल स्कुलका विराज अधिकारीलगायतले समान ३ अंक जोडेका छन्।

सिनियर छात्रा समूहमा आयोजक नेपाल प्रहरी स्कुलकी मन्दिरा गिरी र रिलायन्स इन्टरनेसनल एकेडेमीकी राधिका पौडेलले समान ४ अंक जोड्दै अग्रस्थानमा पुगेका छन्। मोक्षदा सदन स्कुलकी सुवानी बास्कोटाले ३.५ अंक जोडेर दोस्रो स्थानमा छिन्।
त्यस्तै बौद्ध चिल्ड्रेन बोर्डिङ स्कुलकी दिव्यानी श्रेष्ठ, जेभियर्स एकेडेमीकी सिन्जिला नकर्मी, सेन्ट जेभियर्स स्कुलकी मानस्वी शर्मा, एभरेष्ट सेकेन्डरी स्कुलकी हर्षिका श्रेष्ठ र डाफोडिल बोर्डिङ स्कुलकी चोइङ्ग शेर्पाले समान ३ अंक जोडेका छन्।

कक्षा ५ देखि ८ सम्मका जुनियर छात्र समूहमा निटेन मेमोरियल स्कुलका पेम्बा शेर्पा, डाफोडिल पब्लिक स्कुलका देवनस श्रेष्ठ, मार्भलस ईङ्ग्लिस बोर्डिङ स्कुलका बृजनन्दन दास र अलचेमिस्ट एकेडेमीका वचन सिलवालले समान ४ अंक जोड्दै संयुक्त अग्रता लिएका छन्।

जुनियर छात्रा समूहमा बौद्ध चिल्ड्रेन हेभेन स्कुलकी ल्होमु तामाङ र फ्युचर स्टार एकेडेमी ललितपुरकी ग्लोसी श्रेष्ठले समान ४ अंक जोड्दै अग्रता लिएका छन्। यसै समूहमा मार्भलस बोर्डिङ स्कुलकी क्रिष्टी रिजाल, लालिगुराँस स्कुल गोदावरीकी कामना थापामगर, नेशनल युनाइटेडकी क्रिष्टिना राई, अन्नपूर्ण हाइअर सेकेन्डरी स्कुलकी तृष्टीना बस्नेत, निटेन मेमोरियल स्कुलकी परिक्षा बोलाखे र सरस्वती एकेडेमी स्कुलकी श्रीया डंगोलले समान ३ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहेका छन्।

नेपाल प्रहरी विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार आयोजित प्रतियोगिताको उद्घाटन विद्यालयका प्रधानाध्यापक रामप्रसाद भुसालको सभापतित्वमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले गरेका हुन्।
कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनलगायतको उपस्थिति रहेको थियो।

दुईदिने प्रतियोगितामा ८७ विद्यालयका १८७ विद्यार्थी खेलाडी सहभागी भएका छन्। आइतबार बाँकी खेल सम्पन्न भएपछि विजेताहरुलाई पुरस्कार वितरण गरिनेछ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्