hERO hERO

सरकारप्रति कुनै गुनासो छैन ,दर्शक नै प्रेरणा हो :रवीन्द्र ढाँट

मंगलबार, साउन २०, २०८२

काठमाडौं :भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा ऐतिहासिक जित दर्ता गर्दै बान्टमवेट च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट सोमबार साँझ स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी समर्थकको भव्य स्वागतका साथ काठमाडौं ओर्लिएका थिए।

बझाङका ढाँटले आइतबार राति सम्पन्न उपाधि भिडन्तमा भारतका डिफेन्डिङ च्याम्पियन चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै उपाधि हात पारेका थिए। यो जितसँगै उनले आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा पुर्‍याए। साथै, ढाँट म्याट्रिक्स फाइट नाइटको बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ढाँटले राष्ट्रका लागि अझ प्रभावशाली प्रदर्शन गर्ने प्रतिबद्धता जनाए। "मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हराउँदो रहेछ। एकपटक पिँजडामा छिरेपछि लड्नुछ, जुध्नुछ र जसरी भए पनि ढाल्नुछ भन्ने सोच आउँछ," ढाँटले भने।

उनले सरकारप्रति कुनै गुनासो नराखे पनि दर्शकको मायाले आफूलाई थप मिहिनेत गर्न प्रेरणा दिएको बताए। "देशवासीका लागि अझ राम्रो प्रदर्शन गर्नु मेरो दायित्व हो," उनले भने।

रवीन्द्र ढाँटको यो सफलता नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनमा महत्वपूर्ण भएको मानिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्